रेडियोले तलब नदिएको भन्दै रुकुमका पत्रकार आन्दोलनमा

 असार ७, २०७९ मंगलबार १९:५३:५४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा पत्रकारहरूले आन्दाेलन सुरु गरेका छन् । वर्ष दिनसम्म रेडियोमा काम गरेका पत्रकारहरूले पारिश्रमिक नपाएपछि आन्दोलन सुरु गरेका हुन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जनचेतनाका लागि ठूलीभेरी सञ्चार केन्द्रले सञ्चालन गरेको रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन् ।

वर्ष दिनदेखि यो रेडियोमा काम गर्दै आएका ६ जना कर्मचारी तथा पत्रकारहरूले पारिश्रमिक नपाएको बताएका छन् । उनीहरूले दश लाख रुपैयाँ रकम पाउन बाँकी रहेको जनाएका छन् । 

पारिश्रमिक माग गर्दै आएका उनीहरूले आज मङ्गलवारदेखि पहिलो चरणको आन्दोलन सुरु गरेको बताएका छन् । पहिलो चरणको आन्दोलन अन्तर्गत आव विरोध र्‍याली निकालिएको श्रमजीवी पत्रकार सङ्घ नेपालका संयोजक सत्य बटालाले जानकारी दिनुभयो । उहाँका अनुसार श्रमजीवी पत्रकार सङ्घ र रेडियो नयाँ नेपाल सङ्घर्ष समितिको संयुक्त आयोजनामा र्‍याली निकालिएको हो ।

नगरपालिकाको राडी बजारमा र्‍याली निकालेर कोण सभा गरिएको हो । कोण सभालाई नेपाल पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसी, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य अमरराज पुन, प्रेस सेन्टरका कर्णाली प्रदेश कोषाध्यक्ष गोपाल रेग्मी, समाजवादी प्रेस सङ्गठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतले सम्बोधन गर्दै तत्काल पारिश्रमिक उपलब्ध गराउन रेडियो सञ्चालक समितिलाई अनुरोध गरे । 

विरोध र्‍यालीमा चार बुँदे माग राखिएको छ । अविलम्ब पारिश्रमिक दिनुपर्ने, श्रमजीवी पत्रकारिता ऐनअनुसार पारिश्रमिक व्यवस्था गरिनुपर्ने, परीक्षणकाल पूरा गरेका कर्मचारीलाई स्थायी गरिनुपर्ने र हकअधिकारको विषयमा बोलेकै भरमा निष्कासन गर्ने, जगेडामा राख्ने, अनावश्यक तनाव दिने, राजीनामा दिन बाध्य पार्ने जस्ता काम बन्द गर्न माग गरिएको छ ।

माग सम्बोधन नगरिएमा असार ९ गते सामाजिक सञ्जालमार्फत रेडियो व्यवस्थापनको भण्डाफोर गर्ने, असार १२ गते रेडियोमा एक घण्टा धर्ना र नाराबाजीको कार्यक्रम गर्ने र त्यति गर्दा पनि माग पूरा नभए दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने संयोजक बटालाले बताउनुभयो ।

पत्रकारहरूले पारिश्रमिक नपाएको विषयमा नगरपालिकाका मेयर रवि केसीसँग पनि छलफल गरिएको र उहाँले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको पत्रकार महासङ्घ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया