रुकुम पश्चिमकाे सानीभेरीमा गाउँमै पुगेर गर्भ जाँच

 असार १९, २०७९ आइतबार २०:११:३३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमकाे ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर गाउँमै भिडियो एक्सरेमार्फत गर्भ जाँच गरिएको छ । सानीभेरी गाउँपालिकाको विभिन्न चार ठाउँमा एक सय ६ महिलाको गर्भ जाँच गरिएको हो । नियमित गर्भ जाँच गर्नबाट वञ्चित रहेका महिलाहरूलाई लक्षित गरेर गाउँमै सेवा दिइएको हो । 

ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत सानीभेरी गाउँपालिका १ को चाईनाबगरमा १५, गाउँपालिका २ को गिठाकोटमा २२, गाउँपालिका १० को अर्मामा २६ जना र गाउँपालिका ७ को छोटेबगरमा ४६ जनाको गर्भ जाँच गरिएको जिल्ला अस्पताल सल्ले रुकुमका अस्पताल नर्सिङ निरीक्षक प्रेमा केसीले जानकारी दिनुभयो । 

ग्रामीण भेगका महिलाहरू सुगम ठाउँमा गर्भ जाँच गर्न जान नसक्ने भएकोले गाउँमै गएर अल्ट्रासाउन्ड मार्फत गर्भ जाँच गरिएको नर्सिङ निरीक्षक केसीले बताउनुभयो । जाँचका क्रममा ११ जना महिलाको पेटको बच्चा उल्टो भेटिएकोले आवश्यक परामर्शसहित रेफर गरिएको उहाँले बताउनुभयो ।

अल्ट्रासाउन्ड मेशिन र तालिम प्राप्त जनशक्तिको अभावका कारण धेरैजसाे महिलाले भिडियो मार्फत गर्भ जाँच सेवा लिन पाएका छैनन् । गर्भ जाँच गराउन आएका धेरैजसाे महिलाले पहिलो पटक आफ्नो पेटको बच्चाको भिडियोमार्फत जाँच गरेको बताएका छन् । भिडियाेमार्फत बच्चा र आफ्नो समेत स्वास्थ्य अवस्था जान्न पाउँदा उनीहरूले खुसी व्यक्त गरेका छन् । 

बेलैमा गर्भावस्थाको समस्या पत्ता लगाउन भिडियो एक्सरे मेशिन नै बोकेर गाउँमा गएकोले मातृ तथा शिशु मृत्युदर घटाउन यस्ता कार्यक्रम प्रभावकारी देखिएकाे छ । सानीभेरी गाउँपालिकाकी उपाध्यक्ष कमला रोकाले हरेक टोलमा रहेका गर्भवतीहरूकाे यसरी नै गर्भ जाँच गर्ने सेवा मिलाउन आवश्यक रहेको बताउनुभयाे । 

सानीभेरी गाउँपालिकामा पहिलो पटक गाउँमै अल्ट्रासाउन्ड मार्फत गर्भ जाँच सेवा दिइएको हो । यसअघि आठबीसकोट नगरपालिकामा याे सेवा दिइएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया