चीनतर्फको उत्तरी नाका रसुवागढी र तातोपानी नाकाबाट रोकिएका सामग्री भित्रिन थाले

 भदौ ३१, २०७९ शुक्रबार १०:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - कोरोनाका कारण तिब्बतमा गरिएको लकडाउनपछि बन्द रसुवागढी र तातोपानी नाकाबाट सामग्रीको आयात सुरु भएको छ ।

चीनतर्फ रोकिएका व्यापारिक सामग्रीमध्ये पहिलो चरणमा हिजो सात चिनियाँ कन्टेनर रसुवागढीमा आइपुगेको छ । साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट हिजोदेखि व्यापारिक सामग्री आयात सुरु भएको हो । कोभिड–१९ नियन्त्रणका लागि भन्दै यो नाका चिनियाँ पक्षले बन्द गरेको थियो ।

चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका बेला भएको छलफलपछि रसुवागढी नाकाबाट सामग्री आयात हुन थालेको हो । हिजो ७ वटा कन्टेनर नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार केरुङमा रोकिएका कन्टेनर चिनियाँ पक्षले आउँदो असोज ११ गतेसम्म पठाइसक्ने जानकारी दिएको छ ।

दशैँका लागि नेपाली व्यवसायीले चीनबाट झिकाएको झण्डै दुई अर्ब ५० करोड बराबरको मालसामान केरूङ क्षेत्रमै रोकिएको थियो । तर ढिलै भए पनि आयात हुँदा ठूलो सहयोग मिलेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । त्यस्तै तातोपानीमा रोकिएका कन्टेनर पनि नेपाल भित्रिरहेका छन् ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात २०७२ साल मंसिरदेखि रसुवागढी नाकाबाट हुँदै आएको थियो । तर अहिले तातोपानी नाका खुलेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार चीनको सिगात्से, न्यालम, खासा, ल्हासामा रोकिएका दशैँ/तिहारका सामान बोकेका कन्टेनर भित्रिरहेका छन् । तर साउनको अन्तिममा या भदौको सुरुमै दशैँ/तिहारको लागि आवश्यक सामान नेपाल आइसक्नुपर्ने भए पनि चीनले नाका बन्द गर्दा यस वर्ष असोज लाग्ने बेलामा मात्रै सामान आउँदैछन् ।

अहिले आएका सामान दशैँको लागि काठमाण्डौ नजिकका सहरमा पठाउन सम्भव भए पनि टाढाका सहरमा पठाउन समस्या हुने अध्यक्ष श्रेष्ठको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया