कानूनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य गरौं : प्राध्यापक केसी

 मंसिर १७, २०७९ शनिबार १८:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्राध्यापक डाक्टर खड्ग केसीले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । 

जापान युनिभर्सिटिज अलुम्नी एशोसिएशन, नेपाल (जुआन)ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कानुनलाई दुरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति दक्षिण एसियाली देशहरुमा बढीरहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताउनु भएको हो ।

उहाँले जापानले नेपाललाई अर्थतन्त्रलाई बलियो बनाएर अघि बढ्न प्रेरित गरिरहेको पनि बताउनु भयो । त्यसैगरी मेहनत गरिरहे सफलता हात पार्न सकिन्छ भन्ने कुरा पनि जापानबाट आफूहरुले सिक्नुपर्ने केसीले स्पष्ट पार्नु भयो । जापानले मेहनत गरेरै समुन्नति हात परेको स्मरण गर्दै नेपालले त्यसैगरी अघि बढन सक्नुपर्ने उहाँको भनाइ थियो ।

प्राध्यापक केसीले भन्नुभयो, ‘नेपालले जापानबाट सिक्नुपर्ने कुराहरु प्रशस्त छन् । त्यसमध्ये अहिले भन्नुपर्दा जापानको विकास चाँही आर्थिक राष्ट्रवादबाट भएको हो । अर्थात् अर्थतन्त्र बलियो भयो भने समाजका सबै क्षेत्रहरु समुन्नत हुन सक्छन् भन्ने आर्थिक राष्ट्रवाद जापानले अंगालेको हो । सन् १८६७ देखि नै जापानले लिएको यही रणनीति हो । त्यसबाट हामीले सिक्नुपर्ने हुन्छ । अर्को कुरा देशभक्ति । आफूले काम गर्ने संस्था, आफूले काम गर्ने कुनै कार्यालय वा देश बन्यो भने मात्रै त्यसको लाभ आफूले पनि लिन सकिन्छ भन्ने देशभक्तिपूर्ण भाव र कानुनको पालना गर्ने संस्कृति त्यहाँ छ । यहाँ हाम्रो दक्षिण एसियामा कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति छ भने जापानमा चाँही नागरिक होस् कि शासक होस् कानुनको पालना चाँही असाध्यै अनुकरणीय छ । त्यो हामीले सिक्नुपर्ने कुरा हो । अर्को मेहनत गरेर नै सफल हुन सकिन्छ । र, कुनै पनि कुरामा असफल भईयो भनेर हार खाने होइन संस्कृति र मान्यता जापानमा छ । त्यो कुरा चाँही हामी कहाँ यस्ता खालको कामप्रतिको लगाव जस्ता कुराहरु हामीले सिक्न सक्यौं भने नेपालको विकासमा हामी अगाडि जान सक्छौं भन्ने हो ।’

प्राध्यापक केसीले देशप्रतिको भक्तिभावमा पनि जापानिजहरुले उदाहरणीय काम गरेको चर्चा गर्नु भयो । उहाँले जापान बसाइको क्रममा आफ्नो कर्म आफैंले उत्तरदायी भएर गर्नुपर्छ भन्ने सिकेको समेत बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया