पाेखरामा आजदेखि लिटरेचर फेस्टिभल सुरु हुँदै

 पुस ६, २०७९ बुधबार ८:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पर्यटकीय सहर पोखरामा आजदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ ।

प्रचारदेखि व्यवस्थापकीय तयारीका काम सकिएको फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताउनुभयो । “महोत्सवस्थल तयार भइसकेको छ, अतिथि र सहभागीहरू आउने क्रम सुरु भएको छ”, उहाँले भन्नुभयो ।

बुधबार साँझ कवि नवराज पराजुली र गायक उज्ज्वल सागरको प्रस्तुतिबाट फेस्टिभलको शुभारम्भ गरिनेछ । फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने आयोजकले जनाएको छ । 

फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसम्वाद हुनेछ । पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभागी हुने आयोजकको भनाइ छ ।

फेस्टिभलमा श्रीलङ्काका लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुललगायत सहभागी हुँदैछन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा भगवान कोइरालासहित विशिष्ट व्यक्ति वक्ताका रुपमा उपस्थित हुनेछन् ।

पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्कालगायतले विधागत छलफल सत्रमा भाग लिनेछन् । फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया