गुरिल्ला म्याराथनको उपाधि रुकुमका दुर्गा र जुम्लाकी मञ्जुलाई

 फागुन १, २०७९ सोमबार २०:८:३७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको 'पाँचौँ सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथन' को उपाधि दुर्गाबहादुर बुढा र मञ्जु रावतले हात पारेका छन् । 

पुरुषतर्फको ४६ किलोमिटर म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै रुकुमका बुढाले प्रथम स्थान प्राप्त गरेका हुन् । उनले चार घण्टा ५८ मिनेटको समयमा तोकिएको दुरी पार गरेका आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । बुढाले पुरस्कारबापत एक लाख रुपैयाँ प्राप्त गरेका छन् । 

त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दुरी पार गरेर दोस्राे हुँदा रुकुम पश्चिमका अर्जुनकुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा दुरी पार गरेर तेस्रो भएका छन् । निर्धारित दुरी पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढा चौथो भए । दोस्राे, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरूलाई क्रमशः ७५ हजार, ४५ हजार र १५ हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको दशौँ स्थानसम्म आउने प्रतियोगीहरूलाई जनही तीन हजार रुपैयाँ दिइएकाे छ । 

महिलातर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत पहिलाे भएकी छिन् । उनले निर्धारित ३४ किलोमिटरको दुरी २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गरिन् । त्यसैगरी खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दुरी पार गरेर दाेस्राे भइन् भने जुम्लाकी राज्य लक्ष्मी रावत तीन घण्टा ४१ मिनेटमा दुरी पार गर्दै तेस्राे भइन् । सुर्खेतकी बिन्दु हमालले तीन घण्टा ४२ मिनेटमा दुरी पार गरेर चौथो स्थान प्राप्त गरेकी छिन् । पहिलाे, दोस्राे, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरूलाई क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार रुपैयाँका साथमा पदक र प्रमाणपत्र प्रदान गरिएको छ । महिलातर्फ पनि दशौँ स्थानसम्म प्राप्त गर्ने प्रतियोगीहरूलाई जनही तीन हजार रुपैयाँ दिइएकाे छ । 

जनयुद्धको स्मरण र अग्लो ठाउँमा रहेको पर्यटकीय स्थलको प्रचारका लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आइरहेको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ ताका माओवादी गुरिल्लाहरू हिँडेको बाटोमा धावकलाई दौडाइएको हो । तत्कालीन माओवादीले २०५२ सालदेखि झन्डै १२ वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धताका लडाकु अर्थात् ‘गुरिल्ला’ हिँडेको रुकुम पश्चिम र पूर्व तथा रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’ को रूपमा विकास गर्ने उद्देश्यका साथ म्याराथन हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया