गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महाेत्सव सुरु

 बैशाख ६, २०८० बुधबार १७:५३:५० | किरण लोहनी
unn.prixa.net

गाेरखा – अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष पुगेको अवसरमा गोरखाको चुम उपत्यकामा अहिंसा शताब्दी महोत्सव सुरु भएको छ । आउँदाे वैशाख ९ गतेसम्म चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा शताब्दी श्याग्या अर्थात् अहिंसा महोत्सव आयोजना गरिएको छ ।

१९७७ सालको बुद्धजयन्तीमा अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिबद्धता गराउनुभएकाे थियाे । त्यति बेलादेखि उत्तरी चुम उपत्यका अहिंसा क्षेत्रको रूपमा निरन्तर कायम छ । अहिंसा क्षेत्र घोषणा भएको २०७७ सालमा नै सय वर्ष पूरा भइसकेको छ । तर कोरोना महामारीका कारण पर्यटक पुग्न कठिनाइ हुने भएकाले अनुकूल समय मिलाएर यो पटक महोत्सव गरिएको हो । 

अहिंसा क्षेत्रको चिनारी, निरन्तरता, प्रचारप्रसार र जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको श्याग्या शताब्दी महोत्सव मूल आयोजक समितिका अध्यक्ष निमा लामाले बताउनुभयो । वैशाख ६ गते पहिलो दिन उद्घाटन कार्यक्रम, प्रकृति पूजा, शान्ति दीप प्रज्वलन, अहिंसा क्षेत्र निरन्तरताका लागि प्रधानमन्त्रीले हस्ताक्षरमार्फत प्रतिबद्धता जनाउने कार्यक्रम भएको छ । 

यस्तै ८ गते अहिंसा क्षेत्र संरक्षणका लागि युवाहरूको छलफल गोष्ठी आयोजना गरिएको छ । यस क्षेत्रका बासिन्दाले सय वर्षभन्दा पहिलेदेखि हिंंसा नगर्ने नीतिलाई निरन्तरता दिइरहेका छन् । उनीहरूले जनावरको काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाढ्ने, डढेलो नलगाउने, मासु खाने तथा मासु खाने प्रयोजनका लागि बेच्ने उद्देश्यले पशुपालन नगर्ने, त्यही उद्देश्यले चुम उपत्यका हुँदै हिँडाउन नदिने प्रतिबद्धता जनाएका छन् । त्यस्तै काम दिन नसक्ने गरी बुढो भएको जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिलाई नबेच्ने र चौरीको बाच्छा नमार्ने प्रतिवद्धता जनाएका छन् । 

महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा रहेकाे राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चुम उपत्यकालाई सय वर्षसम्म अहिंसा क्षेत्रका रूपमा स्थापित गरेर राख्नु एउटा ऐतिहासिक काम भएको बताउनुभयो । अहिंसा महोत्सवमार्फत चुम उपत्यकाका बासिन्दाले सिङ्गै देश र दुनियाँलाई पनि शान्ति र अहिसांको सन्देश दिएको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले चुम उपत्यकाको प्राकृतिक सौन्दर्यले गर्दा यस क्षेको पर्यटनसँगै आर्थिक र सामाजिक विकासको प्रशस्त सम्भावना रहेकोसमेत बताउनुभयो । उहाँले चुमनुब्रीलगायत देशका विकट क्षेत्रहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा समग्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया