बन्दागोभी बिक्री नभएपछि बारीमा गाईबस्तु चराउँदै किसान

 जेठ २४, २०८० बुधबार ११:४४:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका किसानहरुले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईबस्तु चराउन थालेका छन् ।

वडा नम्बर ११ मोतीपुरका किसानहरुले करिब सात बिगाहा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानहरुले दिनहुँ गाईबस्तु चराउने गरेका छन् ।

तुलसीपुर ११ मोतीपुरका किसान यज्ञबहादुर खत्रीले एक बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्नुभएको छ । एक कठ्ठा जग्गामा १२ क्विन्टलसम्म बन्दागोभी उत्पादन भएको छ ।

खत्रीको मात्रै एक बिगाह जग्गामा दुई सय चालिस क्विन्टल बन्दागोभी उत्पादन भएको छ । खत्रीका अनुसार त्यस गाउँमा मात्रै करिब १४ सय क्विन्टल बन्दागोभी उत्पादन भएको छ ।

किसान खत्रीले उत्पादित बन्दागोभी बिक्री नभएपछि गाईबस्तु चराउन थालिएको बताउनुभयो । एक बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्दा करिब एक लाख रुपियाँ लाग्ने गरेकाे पनि खत्रीले बताउनुभयाे।

उहाँले बजार क्षेत्रसम्म लैजादा ढुवानी खर्च नै नउठ्ने अवस्था आएपछि गाईबस्तु चराउन थालिएको बताउनुभयो । बजारमा प्रति केजी पाँच रुपियाँ रहेको छ । यज्ञबहादुर मात्रै होइन यस क्षेत्रमा खेती गरेका सम्पूर्ण किसानहरुले समस्या उस्तै छ । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले किसानहरुले उत्पादन गरेको बस्तु बजारीकरणमा समस्या सिर्जना भएको भन्दै पालिकाकाेतर्फबाट दुई वटा क्षेत्रमा हाटबजार स्थापनाका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँले किसानहरुलाई पकेट क्षेत्र निर्धारण बेमौसमी तरकारी खेती उत्पादनका लागि प्रोत्साहन गरिने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले किसानहरुले उत्पादन गरेका बेमौसमी तरकारी बिक्री वितरण र मूल्यमा समस्या नभएपनि मौसमी तरकारी खेतीमा भने विगतदेखि नै मूल्य र बजारीकरणको समस्या रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • महतरा क्षेत्रि

    June 7, 2023, 7:25 p.m.

    के हो यो किसानको समयको सदुपयोग कर्मको फल खोइ सरकार

  •  0 Reply

तपाईको प्रतिक्रिया