गोरखा र लमजुङका पाँच वटा पालिका जोड्ने नयाँ पर्यटन पदमार्गको अध्ययन सुरु

 असार २, २०८० शनिबार १८:५:४३ | किरण लोहनी
unn.prixa.net

गोरखा - मनास्लु हिमालको दक्षिणी भेगमा पर्ने गोरखा र लमजुङका पाँच पालिका जोड्ने गरी नयाँ पर्यटन पदमार्गको अध्ययन सुरु गरिएको छ । ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नाम दिइएको पदमार्गको ट्रेकिङ एजेन्सिज एसाेसिएशन अफ नेपाल–टानको प्राविधिक सहयोगमा अध्ययन थालिएको हो ।

टानका उपाध्यक्ष धनबहादुर गुरुङकाे नेतृत्वमा विभिन्न क्षेत्रका विज्ञसहितको समूह शनिवार १५ दिन लामो अध्ययन यात्रामा निस्किएको हो । अध्ययन टोलीलाई प्रस्तावित पदमार्गले समेट्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट तथा लमजुङको दूधपोखरी, मर्स्याङ्दी र दोर्दी गाउँ‍पालिकाका जनप्रतिनिधिहरुले भच्चेकको सिरानडाँडामा बिदाइ गरे ।

शुक्रवार अजिरकोट गाउँ‍पालिकाको केन्द्र भच्चेक बजारमा जम्मा भएका पाँचवटै पालिकाका अध्यक्ष सहितका जनप्रतिनिधिले त्यस पदमार्गको खोज, पूर्वाधार विकास र प्रचारमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

बारपाक सुलिकोट गाउँ‍पालिकाका अध्यक्ष विष्णु भट्टले प्रस्तावित पदमार्गको पूर्वी प्रवेशबिन्दु बारपाकसहितका धार्मिक र सांस्कृतिक स्थलहरुलाई जोड्ने यो पदमार्ग अन्तर्राष्ट्रिय जगतका लागि पनि नाैलाे हुने विश्वास व्यक्त गर्नुभयो । ‘यो क्षेत्रमा प्रकृति र संस्कृतिको ठूलो भण्डार छ, त्यसलाई पर्यटनका माध्यमबाट नागरिकको जीवनयापनसँग जोड्नुपर्छ’ उहाँले भन्नुभयो, ‘पालिकाको आउँदाे नीति तथा कार्यक्रममा यो पदमार्गको प्रवर्द्धनकाे विषय पनि समेट्ने छौँ ।’ 

लमजुङको दूधपोखरी गाउँ‍पालिकाका अध्यक्ष धनप्रसाद गुरुङले पुराना पदमार्गहरु मासिँदै जान थालेकाले नयाँ पदमार्गको खोजी जरुरी रहेकोे बताउनुभयो । चालु रहेका पदमार्ग आसपास सडक विस्तार भएकाले शान्ति वातावरण रुचाउने पदयात्रीका लागि बुद्ध हिमाल–हिमालचुली सर्किट ट्रेलले आकर्षित गर्ने उहाँको विश्वास छ । अजिरकोट गाउँ‍पालिका अध्यक्ष दिपक देवकोटाले चालु आर्थिक वर्ष पदमार्गको सम्भाव्यता अध्ययनका लागि पालिकाले ३ लाख रुपैयाँ छुट्याएको बताउनुभयो । अध्ययन टोलीले दिने प्रतिवेदनका आधारमा पदमार्गमा आवश्यक पर्ने पूर्वाधार निर्माणमा पालिकाले लगानी गर्ने उहाँको भनाइ छ ।

लमजुङको मर्स्याङ्दी गाउँ‍पालिकाका अध्यक्ष अर्जुन गुरुङले प्रस्तावित यो पदमार्गलाई अन्नपूर्ण पदमार्गको विकल्पको रुपमा व्याख्या गर्नुभयो । ‘अन्नपूर्ण पदमार्गको धेरै खण्ड विस्थापित हुन थालेको छ, पदयात्रीहरुलाई नयाँ पदमार्ग मनपर्छ भन्ने हामीलाई विश्वास लागेको छ’ उहाँले भन्नुभयो । सकेसम्म धार्मिक र सांस्कृतिक स्थलसँगै पहाडको टुप्पो भएर पदमार्गको रेखाङ्कन गर्न उहाँको सुझाव छ ।

यस्तै दोर्दी गाउँ‍पालिकाका अध्यक्ष युवराज अधिकारीले उच्च पहाडी क्षेत्रको डाँडैडाँडा भएर यात्रा गर्न सकिने भएकाले यो पदमार्गको दीर्घकालीन महत्त्व रहेको बताउनुभयो । ढिलोमा आउँदाे सेप्टेम्बरसम्ममा पदमार्गको औपचारिक शुभारम्भ गर्ने र पूर्वाधार निर्माणको काम क्रमैसँग गर्दै जाने गरी अघि बढ्नुपर्ने उहाँको भनाइ छ । टानका वरिष्ठ उपाध्यक्ष धनबहादुर गुरुङले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको मनोभावना बुझेरै गोरखा र लमजुङका ५ पालिका जोड्ने गरी यो पदमार्गको अध्ययन गर्न लागिएको बताउनुभयो ।

‘बुद्ध हिमाल र हिमालचुलीको फेदी भएर अघि बढ्ने यो पदमार्गमा दुई जिल्लाका कम्तीमा नारदपोखरी, नागेपोखरी, दूधपोखरी, मेमेपोखरी, इलिमपोखरी, ठूलागी ताल जस्ता ८ वटा ताल, कुण्ड र पोखरी जोडिन्छन्’ उहाँले भन्नुभयो, ‘अनि थुप्रै खर्क, लेक र ग्लासिएरहरु छन्, रुट आफैंँमा शान्त र सुन्दर छँदैछ, विदेशी पदयात्रीले रुचाउनेनै यस्तै रुट त हो ।’

पदमार्गमा पर्ने करिब ३८ सय मिटर माथिको तपीमाडी नामको खर्क, धवलागिरिदेखि गणेश हिमालसम्म र तराईका फाँटहरुको दृश्यावलोकन गर्न सकिने लिपेलेक, भेँडीगोठ र चौँरी गोठहरु पर्यटकको आकर्षणमा पर्ने गुरुङको विश्वास छ ।

यो पदमार्गले पाँचवटै पालिकाका अन्य छोटा पदमार्गहरुलाई पनि जोड्ने अध्ययन टोलीमा सहभागी ट्रेल एक्स्प्लोरर तथा संस्कृतिविज्ञ मनराज गुरुङले बताउनुभयो । ‘बारपाकबाट पूरै पदमार्ग हिँड्न त कम्तीमा १० दिन लाग्न सक्छ, कसैलाई छोटो पदयात्रा गर्न मन लाग्छ भने छोटा रुटहरु पनि छन्’ उहाँले भन्नुभयो, ‘बारपाकबाट यात्रा सुरु गरेर दुई/तीन दिनमा भच्चेक निस्कन पनि सकिन्छ, अथवा भच्चेकबाट मुख्य ट्रेल भएर दूधपेखरीबाट लमजुङको राइनासतिर झनै पनि सकिन्छ ।’

दुवै जिल्लामा अहिले चलनमा रहेका पदमार्गहरुलाई मुख्य पदमार्गमा जोड्ने गरी नक्साङ्कन गरिने उहाँको भनाइ छ । अध्ययन टोलीमा टानका वरिष्ठ उपाध्यक्ष धनबहादुर गुरुङसहित पर्यटन विज्ञ रामचन्द्र सेढाईँ, वातावरणविज्ञ कमल थापा, सिभिल इन्जिनियर कृष्ण गौतम, ट्रेल एक्स्प्लोरर तथा संस्कृतिविज्ञ मनराज गुरुङ, जीपीएस ट्रयाकिङ एक्सपर्ट सञ्जीव गुरुङ, सिनेमाटोग्राफर लोकचन्द्र थापा लगायत १५ जनाको समूह सहभागी छ ।

भच्चेकबाट यात्रा सुरु गरेका उनीहरु सिम्जुङ, घ्याच्चोक हुँदै शुक्रवार बारपाक पुगेका छन् । यात्राका क्रममा बाटोको जीपीएस ट्रयाकिङ, वृत्तचित्र निर्माणका लागि श्रव्यदृश्य सामग्री सङ्कलन,त्यस क्षेत्रको सांस्कृतिक र प्राकृतिक विशेषताको अध्ययन, पूर्वाधार विकास गर्नुपर्ने ठाऊँ लगायतका विषयमा अध्ययन गरिने टानका वरिष्ठ उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । पदमार्गको वृत्तचित्र तयार भएपछि पर्यटन बोर्डमा पाँचवटै पालिकाका जनप्रतिनिधि लगायतको सहभागितामा प्रदर्शन गर्दै पदमार्ग भ्रमणको प्याकेज तयार पार्ने टानको लक्ष्य रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया