उखु बिक्री गरेकाे ९ महिना बितिसक्दा पनि किसानले अनुदान रकम पाएनन्

 भदौ ८, २०८० शुक्रबार २०:३:२२ | रामबाबु खड्का
unn.prixa.net

फाइल तस्बिर

सर्लाही – सर्लाहीका उखु किसानले सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको रकम अझैसम्म पनि पाएका छैनन् । उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा उखु किसान समस्यामा परेका छन् ।

सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घर खर्च टार्न र खेतीपाती लगाउन मुस्किल परेको हरिवन नगरपालिका–६ का उखु किसान रामउदगार महतोले  गुनासो गर्नुभयो ।

सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि  उखुको समर्थन मूल्य प्रतिक्विन्टल छ सय १० रुपैयाँ निर्धारण गरेको थियो । त्यसमध्ये उद्योगले पाँच सय ४० रुपैयाँ र सरकारले ७० रुपैयाँ गरी किसानलाई छ सय १० रुपैयाँ भुक्तानी गर्ने सहमति भएको थियो । उद्योगले किसानलाई पाँच सय ४० रुपैयाँ भुक्तानी गरिसक्दा सरकारले अनुदानबापतकाे रकम भुक्तानी नगरेकाे हाे ।

‘समयमा चिनी उद्योगले उखु बिक्री गरेको तथ्याङ्क सरकारलाई उपलब्ध नगराएकाले भुक्तानी ढिलो भएको छ, उखु बिक्री गरेको तथ्याङ्क पठाउन उद्योगलाई ताकेता गरिरहेका छौँ, चिनी उद्योगले उखु बिक्री गरेको तथ्याङ्क कृषि मन्त्रालयलाई पठाएपछि मात्रै अर्थ मन्त्रालयले अनुदानको रकम किसानलाई पठाउँछ । चिनी उद्योग र सरकारको कमजोरीका कारण किसानले दुःख पाएका हुन्, अनुदानको पैसा पठाउन सरकार र उद्योगलाई दबाब दिइरहेका छौँ, असोजको पहिलो हप्तासम्म किसानले भुक्तानी पाउँछन्’, उखु उत्पादक महासङ्घका राष्ट्रिय अध्यक्ष कपिलमुनि मैनालीले भन्नुभयो  ।

सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम समयमा नदिने र उद्योगले पनि किसानको लगानीअनुसारको मूल्यमा उखु खरिद नगर्ने गरेका कारण उखु खेतीप्रति किसानकाे आकर्षण घट्दै गएको छ । ‘उखु खेतीभन्दा अन्य बालीबाट राम्रोसँग फाइदा हुन्छ, उखु खेती लगाउन छोड्दै गएका छौँ’, बरहथवा–१० का किसान श्रीकान्त महतो भन्नुहुन्छ, ‘उखु बिक्री गरेको १५ महिनामा बल्ल भुक्तानी आउँछ, सरकारी अनुदानको रकमको अझै अत्तोपत्तो छैन । धान ,मकै, गहुँ, तोरी खेतबाट बिक्री हुन्छ । यही मूल्यमा उखु खेती गर्ने हो भने लागत मूल्य पनि उठ्दैन, दुई पैसा फाइदा नहुने भएपछि किन दुःख गर्नुपर्‍याे ? उखुको मूल्य प्रतिक्विन्टल आठ सय ५० रुपैयाँभन्दा माथि भएमात्र लगानी उठ्छ ।’

जिल्लामा सञ्चालन भएका तीन वटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनले सबै किसानकाे रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिल धनकौलले अझै केही रकम भुक्तानी गर्न बाँकी नै छ । इन्दुशंकरले यस क्रसिङ सिजनमा २८ लाख क्विन्टल उखु खरिद गरेकाे थियो । त्यसैगरी महालक्ष्मी र अन्नपूर्णलाई उखु अभाव भएपछि लक्ष्यअनुसारको उखु क्रसिङ गर्न नसकेर सिजनभन्दा अगाडि नै उद्योग बन्द भएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया