पहिराे पन्छाएपछि बेनी–जोमसोम सडक खुल्याे, बेनी–दरबाङ सडक अझै अवरुद्ध

 असोज १६, २०८० मंगलबार १९:४४:३४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पहिरो खसेर गए रातिदेखि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खुलेको छ । मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक आज मङ्गलवार दिउँसाेदेखि सञ्चालनमा आएकाे हो ।

हिजाे सोमवारदेखि परेको अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले बेनी–जोमसोम सडक खण्डको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैंसरी, कुलौटे, अन्नपूर्ण–२ नैनीबगर र ३ नम्बर वडा दानाको गुईँठेमा अवरुद्ध सडक पहिरो पन्छाएपछि खुलाइएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाको डोजर र प्राविधिकसहितको जनशक्ति परिचालन गरी पहिरो पन्छाइएकाे म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँबरले बताउनुभयो । सडक खुलेसँगै बीच बाटोमा रोकिएका गाडी गन्तव्यतर्फ लागेकाे उहाँले बताउनुभयाे । बाटाे अवरुद्ध हुँदा पर्यटक, मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्री समस्यमा परेका थिए ।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म ७६ किलोमिटर दूरी रहेको यस सडक खण्डको म्याग्दी खण्डअन्तर्गत विभिन्न ठाउँमा सडक स्तरोन्नतिको काम अहिले पनि चलिरहेकाे छ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको बेनी–जोमसोम–कोरला सडक खण्ड गण्डकी प्रदेशको 'लाइफलाइन' मानिन्छ ।

यसैबीच पहिरोकै कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक खण्ड भने अझै सञ्चालमा आउन सकेकाे छैन । बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४ घुमाउनेभीर र मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोको जोखिम रहेकाले सडक खुलाउन सकिएको छैन ।

पश्चिम म्याग्दीको मंगला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक म्याग्दीको 'लाइफलाइन' को रूपमा मानिन्छ । यो सडक खण्ड वर्षाकाे समयमा अवरुद्ध हुँदै आएकाे छ । अहिले यस सडक खण्डमा पनि स्तरोन्नतिको काम चलिरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया