तिहार : सहर बजारमा झिलिमिली बिजुली बत्ती, गाउँघरमा ढकमक्क मखमली र सयपत्री (तस्बिरहरू)

 कात्तिक २७, २०८० सोमबार १९:२१:२२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नेपालीहरूको दोस्रो महान् पर्व तिहार घर आँगनमा भित्रिएको छ । अब तिहारको भाइटीका लगाउन दुई दिनमात्रै बाँकी छ । विभिन्न कामकाे सिलसिलामा जिल्लाबाहिर र विदेश पुगेका दाजुभाइ तथा दिदीबहिनी दशैँ र तिहार पर्वको अवसर पारेर गाउँघर फर्किएका छन् ।

गाउँका घरहरू रातो र पहेँलो माटो तथा सेतो कमेरोले पोतिएपछि बेहुलीजस्तै सिँगारिएका छन् । गाउँघरमा मच्चिने लिङ्गेपिङ र रोटेपिङले चाडबाडलाई झनै रमाइलाे बनाइदिएको छ । सहर बजारमा बिजुली बत्तीले झिलिमिली बनाएको छ भने गाउँमा सयपत्री, मखमली, तिहारे र गोदावरी फूल ढकमक्क फूलेका छन् ।

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्मै सयपत्री र मखमली फूलिरहेका छन् । फूलहरूकै कारण गाउँघर अहिले निकै सुन्दर, आकर्षक र मनमोहक देखिएका छन् ।

घर, आँगन, डिल, बारी, कान्ला र खोल्सा–खोल्सीमा फुलेका फूलहरूले तिहार नजिकिएको सङ्केत गर्दछ । सहर, बजारमा पनि रङ्गेली रङ, झिलीमिली बत्ती, विभिन्न प्रकारका फूल र मालाले तिहार पर्वलाई स्वागत गरिरहेका छन् । तिहारमा फुलेका फूलहरूले वातावरणलाई सुन्दर बनाउनुका साथै पर्यटकलाई समेत लोभ्याएको छ । नेपाली समाजमा तिहार पर्वलाई उज्यालो र फूलै फूलको पर्वको रूपमा मानिन्छ । तिहारको अन्तिम दिन भाइटीकाको दिनमा मखमली र सयपत्री फूलको माला अनिवार्यजस्तै बनेको छ ।

यसैगरी नेवारी समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि पनि सयपत्री, गोदावरीलगायत फूलहरू अनिवार्य प्रयोग हुन्छन् । लक्ष्मीपूजाको दिन घरको मूल ढोकामा सजाउन होस् वा पसल, कार्यालय, व्यावसायिक स्थललगायत क्षेत्रलाई सिँगार्नका लागि पनि सयपत्री, मखमलीलगायत फूलको प्रयाेग हुन्छ । अहिले यी फूलहरूको माग उच्च रहेकाे छ । कतिपयले फूलखेती गरेरै तिहार पर्वमा मनग्गे आम्दानी गर्दै आइरहेका छन् । तिहार दाजुभाइ र दिदीबहिनीको बीचमा आत्मीयता साटासाट गर्ने तथा सम्बन्ध अझै प्रगाढ बनाउने पर्व हाे ।

तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । मृत्युको देवताको रूपमा मानिने यमराजले आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्ने अधिक इच्छा भएर विभिन्न माध्यममार्फत दाजुलाई भेट्न आउन निम्तो पठाइन् । उनले यमराजसमक्ष शुरुमा काग त्यसपछि कुकुर, गाई र अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसङ्ग विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको पाइन्छ ।

तिहारमा झिनियाँ, सेलरोटी, मिठाई जस्ता परिकार बनाएर खाने तथा सयपत्री, मखमली, गोदवरीसहित विभिन्न फूलको माला उनेर सप्तरङ्गी टीका लगाएर मनाउने चलन छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया