४ वर्षपछि खुलेकाे काेरला नाकाबाट सामान आउन थाल्यो

 कात्तिक २७, २०८० सोमबार १९:३९:५१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – चीनसँग सीमा जोडिएको हिमालपारिको जिल्ला मुस्ताङको कोरला नाका आज (सोमवार) देखि पुनः सञ्चालनमा आएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण २०७६ सालदेखि बन्द अवस्थामा रहेको मुस्ताङ–तिब्बत कोरला नाका आजदेखि पुनः सञ्चालनमा आएको हो ।

दुई देशका उच्च सरकारी अधिकारीको उपस्थितिमा एक समारोहबीच उद्घाटन गरी कोरला नाका खुलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । औपचारिकरूपमा नाका खुला गरिएपछि दुई देशको बीचमा व्यापारिक कारोबार पनि शुरु भएको उहाँले बताउनुभयो । आर्थिक कारोबारका लागि मुस्ताङका एक हजारभन्दा बढी स्थानीयवासीलाई नाका प्रवेशका लागि अनुमतिपत्र उपलब्ध गराइएको छ ।

लामो समयपछि कोरला नाका खुलेसँगै नेपालतर्फ चिनियाँ सामान भित्रिन थालेका छन् । नाका प्रवेश गर्ने अनुमतिपत्र पाएका स्थानीयवासी ३० किलोमिटर परको चिनियाँ भूमिसम्म पुगेर सामान खरिद/बिक्री गर्न पाउने मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । तत्कालका लागि उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका एक हजारभन्दा बढी स्थानीयलाई मात्रै प्रवेश पास दिइएको छ । कोरला नाका खुलेर चिनियाँ सामान आउन थालेपछि मुस्ताङी उत्साहित भएका छन् ।

कोरला नाका सञ्चालन गर्न सीमा क्षेत्रमा नेपालतर्फ यसअघि चीनको सहयोगमा सुरक्षाकर्मीलाई लक्षित गरेर अस्थायी कन्टेनर स्थापना गरिएको थियो । चीनले उपलब्ध गराएको त्याे अस्थायी कन्टेनरभित्र आवश्यकताअनुसार नेपाली सुरक्षाकर्मीका लागि बसाइ व्यवस्थापन मिलाइएको छ । कोरला नाकादेखि १४ किलोमिटर तल नेपाली भूमि नेचुङमा 'कस्टम', 'क्वरेण्टीन', 'इमिग्रेसन' लगायत सुरक्षाको व्यवस्थापन गरिएको छ ।

कोरला नाका खुलेपछि मुस्ताङ र तिब्बतको बीचमा व्यापार, व्यवसाय, आवतजावत र कारोबार शुरु भएको छ । कोरला नाकाबाट लत्ताकपडा, बिजुलीका सामान, पेय पदार्थ, दैनिक उपभोग्यलगायत सामान नेपालतर्फ आयात हुन्छन् । यसैगरी भेडाकाे ऊन, पस्मिना, जिम्बुलगायतका नेपाली सामान चीनतर्फ निर्यात हुन्छ । चाडबाडको समयमा भेडा–च्याङ्ग्रा पनि खरिद–बिक्री हुने मुस्ताङका व्यापारी बताउँछन् । 

कोरला नाकाको पूर्वतर्फ चीन सरकारले स्थायी संरचना बनाएको भए पनि नेपालतर्फ भने अस्थायी संरचना पनि बन्न सकेको छैन । कोरोना महामारी फैलनुअघि नेपाल र चीनबीच वर्षमा दुई पटकसम्म अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो । हरेक वर्षको जुन र अगस्ट महिनामा हुने दुई देशको व्यापारीक मेलामा मुस्ताङी र चिनियाँ व्यापारीले सामान साटसाट गर्नुका साथै बिक्री पनि गर्ने गर्दथे ।

गएको असोज पहिलो हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको चीन भ्रमणका क्रममा चीनले नेपालसँग सीमा जोडिएका कोरलासहित १४ वटा नाका खोल्ने जनाएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया