महायज्ञ लगाएको १२ वर्षपछि ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन

 मंसिर १०, २०८० आइतबार २०:१९:२४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा महायज्ञ लगाएको १२ वर्षपछि ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन भएको छ । महायज्ञबाट सङ्कलित रकमले पुनःनिर्मित जगन्नाथ मन्दिरको आज (आइतवार) एक समारोहबीच उद्घाटन गरिएको हो ।

जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरूको प्राणप्रतिष्ठा गरी पुनःनिर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरिएको जगन्नाथ धाम (मन्दिर) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । यहाँ २०६९ साल मङ्सिर ७ देखि १३ गतेसम्म सप्ताहव्यापी महायज्ञ लगाइएको थियो । 

त्यस श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित एक करोड आठ लाख रुपैयाँको रकममध्ये जगन्नाथ मन्दिरको पुनःनिर्माणमा ४७ लाख ९१ हजार नौ सय ७३ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्माले जानकारी दिनुभयो । अझै पनि महायज्ञमा विभिन्न चन्दादाताहरूले बोलेको झन्डै आठ लाख रुपैयाँ उठ्न बाँकी नै रहेको समितिले जनाएको छ । 

मन्दिर शिखर शैली एवम् काठमाण्डाैकाे पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा रहेकाे कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा पुनःनिर्माण गरिएको छ । मन्दिरको शिरमा तामाको मूल गजुर र चार वटा चोसामा चार वटा पित्तलको सुनौलो रङका गजुरहरू जडान गरिएको छ । पुनःनिर्मित मन्दिरको वरिपरि भुइँमा मेशिनबाट कटिङ गरेका ढुङ्गा बिच्छ्याइएको छ भने चारैतिर ढोका र झ्याल राखिएको जगन्नाथ मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताउनुभयो ।

विसं. १५५० मा पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब) ले भारतको उडिसा राज्यमा पुगेर भगवान् जगन्नाथको मूर्ति ल्याई गाजनेको हलहले चौरमा स्थापना गरी आफू त्यही ठाउँमा अलप भएको किंवदन्ती रहेको छ । आजभन्दा पाँच सय ३० वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब–महाराज, गणेश, राम–लक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरू रहेका छन् । 

यही मन्दिरकै कारण २५ घरधुरी रहेको गाजने गाउँमा जाँड–रक्सी उत्पादन तथा कुखुरापालन गर्न निषेध गरिएको छ । यो नियम राजा डिम्बले जगन्नाथको मूर्ति स्थापना गर्ने क्रममै थिति बसालेको हुँदा आजसम्म पनि कायमै रहेको स्थानीयवासी बताउँछन् । स्वदेश तथा विदेशबाट दैनिकजसो श्रद्धालु भक्तजन आउने भएकाले जगन्नाथ मन्दिरमा समितिमार्फत पूजारी राखेर नियमित पूजा गर्ने व्यवस्थापन मिलाइएको छ । 

पुनःनिर्मित जगन्नाथ मन्दिरको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले धर्म र पर्यटनलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै म्याग्दीका प्रमुख धार्मिक तीर्थस्थल गलेश्वर, पौलस्त्य पुलहाश्रम, जगन्नाथ र ताकमकोटको विकास गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया