मुस्ताङमा यस वर्षको पहिलो हिमपात (तस्बिरहरु)

 मंसिर १८, २०८० सोमबार १२:३३:५१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्षको पहिलो हिमपात भएको छ । आज सोमवार बिहानैदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङदेखि जिल्ला सदरमुकाम जोमसोम र तल्लो क्षेत्र घाँसासम्म हिमपात भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले टेलिफोनमा जानकारी दिनुभयो ।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, बाह्रगुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । यो समाचार तयार पार्दासम्म अहिले पनि मुस्ताङमा हिमपात भैरहेको छ । मुस्ताङको माथिल्लो क्षेत्रमा झण्डै २ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ । हिमपात भएपछि मुस्ताङमा चिसो बढेको छ । हिमपातका कारण मुस्ताङका स्थानीयवासी कोही हिउँ पन्छाउन लागेका छन् भने कोही घरभित्र बसेर आगो तापिरहेका छन् ।

हिमपात भएर एक्कासी चिसो बढेपछि घर बाहिर निस्कन पनि समस्या भएको छ । मुस्ताङ सदरमुकाम जोमसोमको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा पुगेको जनाइएको छ । चिसोबाट जोगिन घरभित्रै बस्न, तातो खानेकुरा खान र न्यानो कपडा लगाउन स्थानीयलाई अनुरोध गरिएको छ।

यसैगरी जोमसोम विमानस्थलमा आज एउटा मात्रै हवाई उडान भएपछि उडान रोकिएको छ । दुई वटा उडान हुने तालिका रहे पनि मौसम प्रतिकुल बनेपछि पोखराबाट जोमसोमका लागि एउटा मात्रै हवाइजहाज आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

यता यसवर्ष मंसिर महिनाको दोस्रो हप्तामा नै पहिलो हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसीले रमाएका छन् । 

यसैबीच मुस्ताङमा चिसो बढ्दै गएपछि उपल्लो मुस्ताङका झण्डै ७० प्रतिशत र तल्लो मुस्ताङका ५० प्रतिशत स्थानीयवासी जाडो छल्न बेसीतर्फ झरेका छन् । अहिले मुस्ताङमा होटल व्यवसायी, भेडा गोठाला, घरकुरुवा र बुढाबुढी मात्रै छन् ।

मुस्ताङीहरु हरेक वर्ष चिसो बढेपछि मंसिरमा बेसी झर्ने र फागुनमा गर्मी बढ्दै जान थालेपछि मुस्ताङ फर्किने गर्दछन् । उपल्लो मुस्ताङमा गएको असोज अन्तिम हप्तादेखि चिसो बढ्न थालेको थियो ।

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया