नेपालबाट बाहिरिनेभन्दा भित्रिने पैसाको मात्रामा क्रमशः वृद्धि

 मंसिर २८, २०८० बिहिबार १६:४०:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपालबाट बाहिरिनेभन्दा भित्रिने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोड रुपैयाँले बचतमा थियो ।

समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६ दशमलव छ प्रतिशतले कमी आई एक अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड रुपैयाँ छ । अघिल्लो वर्षको यही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ९७ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ११ करोडले बचतमा छ ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने देशका आधारमा भारत र अन्य देशबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलव सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलव चार प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाई जहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालयबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

चालु आर्थिक वर्षकाे चार महिनामा कुल वस्तु व्यापार घाटा तीन दशमलव तीन प्रतिशतले कमी आई चार खर्ब ६१ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो घाटा १५ दशमलव नौ प्रतिशतले घटेको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया