आहा ! टाेड्केकाे 'अर्गानिक' मुला

 पुस ७, २०८० शनिबार १६:१६:२३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – साग र कन्द दुवै पकाएर वा काँचै खान मिल्ने साग वर्गको वनस्पतिलाई मुला भनेर चिनिन्छ । मुलाको खेती पहिले परम्परागतरूपमा गरिन्थ्यो भने अहिले व्यावसायिकरूपमै गर्न थालिएको छ । आजभाेलि हत्तपत्त अर्गानिक मुला भेटिन गाह्राे छ, धेरैले हाइब्रिड (छिटाे उत्पादन दिने) प्रजातिका मुला खेतीमा जाेड दिने गरेका छन् । तर हिमाली जिल्ला म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा भने अहिले पनि अर्गानिक मुलाको उत्पादनले निरन्तरता पाएको छ ।

टोड्केमा उत्पादन हुँदै आएको मुला अहिले स्थानीयको पहिचान बनेकाे छ । टाेड्के मुला खेतीका लागि प्रसिद्ध छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाउँदै गएको स्थानीयवासी बताउँछन् ।

म्याग्दीकाे बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्केमा स्थानीयवासीले स्थानीय जातकाे सेताे र राताे रङकाे मुला लगाउँदै आएका छन् । टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि आकर्षक बनेको हो ।

टोड्केमा उत्पादित मुला पर्यटकका लागि कोसेलीसमेत बन्ने गरेको छ । जम्मा पाँच घरधुरीको बसोबास रहेको टोड्केमा स्थानीयवासीले भेडापालन पनि गर्दै आएका छन् । अर्गानिक मुला उत्पादनमा सक्रिय टोड्केकी तीजमाया पाईजाले आफ्ना बाबुबाजेको पालादेखि लगाउँदै आएको खेतीलाई अहिले पनि आफूहरूले निरन्तरता दिएको बताउनुभयो ।

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा रहेको टोड्केमा मुलासँगै आलु र फापरको पनि खेती हुन्छ । स्थानीयवासीले मुलाबाट विभिन्न परिकार पनि बनाउने गरेका छन् ।

गाईभैँसी र भेडाको मलमात्रै हालेर लेकाली तरिकाले उत्पादन गरिने भएकाले अर्गानिक मुला खोज्दै ग्राहक किन्न आउने गरेका मुला उत्पादक किसान पाईजाले बताउनुभयो । स्थानीयले एक सिजनमा उत्पादित मुला बेचेर झन्डै एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । विषादिरहित मुला उत्पादन गर्दै आएका टोड्केका स्थानीयवासीले मुलाबाट धजरा, चाना, सिन्की (गुन्द्रुक) बनाएर बिक्री गर्दै आइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया