घरजग्गा मेलाले कारोबार चलायमान बनाउने लगानीकर्ताहरुको विश्वास

 पुस १४, २०८० शनिबार १८:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आठौँ घरजग्गा मेलामा आएका अवलोकनकर्ता एवम् लगानीकर्ताहरुले मेलाले घरजग्गाको कारोबार चलायमान बनाउन भूमिका खेलेको बताएका छन् । 

पुष १२ गतेदेखि शुरु भएको मेला आज तेस्रो दिन पनि चलिरहेको छ । काठमाण्डौको भृकुटीमण्डपमा कोरोना महामारीपछि पहिलोपटक सञ्चालन भएको मेलामा अवलोकनकर्ता एवम् लगानीकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । 

मेलाको अवलोकन गर्न आएकाहरुले केही वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार यस मेलाले चलायमान बनाउने अपेक्षा गरेको बताए । मेला अवलोकन गर्न आउनुभएका लगानीकर्ता एवम् अवलोकनकर्ता चेतनारायण पौडेलले विगत चार वर्ष यता सुस्ताएको घर जग्गा कारोबार मेलामा पाएको उत्साहले फस्टाउने सङ्केत देखिएको बताउनु भयो । उहाँले मेलामा मानिसहरुको चलहपहल बढेको र आफ्नो जग्गामा पनि सुरक्षित आवास बनाउन सकिने जानकारी पाइने बताउनु भयो ।

उहाँले थोरै रकम भएकाहरुले काठमाण्डौ बाहिर पनि लगानी गर्नसक्ने वातावरण मेलामा रहेको बताउनु भयो । उहाँले काठमाण्डौ उपत्यका बाहिरबाट पनि स्टलहरु राखिएको र त्यसले पैसा कम भए थोरै लगानी उपत्यका बाहिर पनि गरिराख्न पाउने अवस्था रहेको बताउनु भयो ।

त्यस्तै अवलोकनकर्ता नरेन्द्रबहादुर रेग्मी र रिता केसी पनि जानकारी लिनका लागि विभिन्न ठाउँ भौँतारिरहनुपर्ने बाध्यता मेलामा आएपछि नहुने बताउनु हुन्छ । उहाँहरुले मेलाबाट कुन ठाउँमा घरजग्गाको कारोबार कतिसम्म र कस्तो रहेछ भन्ने जानकारी पाउन सकिने बताउनु भयो ।

उहाँहरुले मेलामा आएपछि दलालबाट ठगिनुपर्ने बाध्यता नहुने र सीधै सम्बन्धित व्यक्तिहरुलाई भेट्न सकिने सुविधा रहेको बताउनु भयो । त्यस्तै काभ्रेपलाञ्चोकबाट मेला अवलोकनका लागि आउनुभएका सुकुमान तामाङ आर्थिक मन्दीको बेलामा घरजग्गा व्यवसाय रहेकाले मेलाले आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुग्ने बताउनु भयो ।

उहाँले साना व्यवसायीहरुलाई पनि समेटेर आगामी दिनमा यस्ता मेलाहरु गर्दा झनै राम्रो हुने सुझाव दिनुभयो । त्यस्तै अर्का अवलोकनकर्ता नवराज भण्डारी सबै एकै ठाउँमा बुझ्न पाउँदा सहज भएको बताउनु हुन्छ । विभिन्न ठाउँमा भौँतारिनुपर्ने समस्या मेलाबाट समाधान हुने बताउनु भयो । घरजग्गा मेलामा पुगनुभएका ७६ वर्षका सूर्यभक्त श्रेष्ठ मेलामा सबै थोक भए पनि सानो र खाली ठाउँ धेरै भएको घर आफूले नपाएको गुनासो गर्नुहुन्छ । अरु हिसाबले भने सम्पूर्ण रुपमा मेला उपयोगी र फलदायी रहेको उहाँले बताउनुभयो ।

आठौँ पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैङ्क र बीमा कम्पनीहरु सहभागी छन् । घरजग्गा मेलामा युवादेखि वृद्धवृद्धाहरुको पनि उल्लेख्य उपस्थिति र आकर्षण रहेको छ । घरजग्गा मेला भाेलि आइतवार १५ गतेसम्म चल्नेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया