विद्युत् प्राधिकरण ६० अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने तयारीमा

 पुस २८, २०८० शनिबार १५:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको गएको मङ्सिर २५ गते बसेको बैठकले अर्थ मन्त्रालयबाट अधिकृत पूँजी तीन खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

खुद सम्पत्ति अर्थात नेटवर्थको दुई गुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा प्रस्तावित अधिकृत पूँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई शेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ । 

प्राधिकरणको आईपीओ किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता दुई सय ५० रुपैयाँ खर्च गर्नुपर्नेछ । प्राधिकरणको अहिले अधिकृत पूँजी एक खर्ब २५ अर्ब रुपैयाँ रुपैयाँ बराबर छ । सर्वसाधारणलाई शेयर जारी गरी प्राप्त हुने रकम दीर्घकालीन लगानीका रुपमा जलाशययुक्त आयोजना निर्माण, प्रसारण तथा वितरण लाइनको विस्तार तथा सुदृढीकरण कार्यमा उपयोग गरिने प्राधिकरणले जनाएको छ  ।

प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको छ । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । प्राधिकरणले गएको आर्थिक वर्ष २०७९/८० मा  १२ अर्ब ३३ करोड रुपैयाँको खुद नाफाको प्रक्षेपण गरेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया