नझुक्किनुस्, फेसबुक कमेन्टमा @highlight लेख्दैमा ह्याक हुने/नहुने थाहा हुँदैन

 माघ २१, २०८० आइतबार १६:२१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फेसबुक कमेन्टमा @highlight लेख्दा अक्षर नीलो भयो भने फेसबुक आइडी बलियो र कसैले ह्याक गर्न नसक्ने दावीसहितका पोस्टहरु भाइरल भएका छन्। धेरैले यस्ता पोस्ट गरेका छन् र त्यसमा सयौँ कमेन्टहरु देखिन्छन्।

तर हाम्रो तथ्य जाँचमा यो दावी मिथ्या भएको देखियो। फेसबुकमा कमेन्ट गर्दैमा ह्याक हुने/नहुने थाहा हुँदैन। फेसबुकको यो फिचरले कमेन्ट गर्ने केही साथीहरुलाई नोटिफिकेसनसम्म जान सक्ने अवस्था हुन्छ।

के छ दावी ?

भाइरल दावीमध्ये एकको स्क्रिनसट।

भाइरल भएका अधिकांश पोस्टहरुमा मार्क जुकरबर्गको फोटो र केही अक्षर राखिएको हुन्छ। त्यसमा फेसबुकको नयाँ आश्चर्य दावी गर्दै कमेन्टमा पहिले @ लेखेर highlight लेखी कमेन्ट गर्दा यदि हाइलाइट टेक्स्ट नीलो छ भने तपाईँको आईडी बलियो हुने र कसैले सजिलै ह्याक गर्न नसक्ने दावी गरिएको हुन्छ।

शनिबार राति हामीले खोजी हेर्दा यस्ता धेरै पोस्टहरु फेसबुकमा भेट्यौँ। हेर्नुस् स्क्रिनरेकर्ड।

के हो तथ्य ?

हामीले यो विषयमा तथ्य जाँचका लागि सुरुमा गुगलको फ्याक्ट चेक एक्सप्लोररमा गई @highlight कीवर्ड राखी यस विषयमा पहिले नै कसैले तथ्य जाँच गरिसकेको छ कि छैन खोज्यौँ।

भेरिफाइदिस डट कमले गएको डिसेम्बरमा यो विषयमा तथ्य जाँच गरेको रहेछ। तर त्यसमा कमेन्टमा @highlight लेख्दा तपाईँको प्रोफाइललाई जहिले पनि चेक गर्ने को रहेछ भन्ने देखाउँछ भन्ने दावी गरिएको रहेछ जुन कि गलत हो। हेर्नुस् भेरिफाइदिसको तथ्य जाँच।

त्यसैगरी स्नुप्स डट कमले पनि यो विषयमा तथ्य जाँच गरी यसलाई गलत बताएको छ। हेर्नुस् तथ्य जाँच। 

नेपालमा भएको जस्तै भाइरल पोस्ट भने भारतमा पनि भएको रहेछ। भारतको तथ्य जाँच गर्ने वेबसाइट फ्याक्टलीले फेब्रुअरी २ मा यसबारे तथ्य जाँच गरेको छ।

त्यसमा राखिएको भाइरल पोस्टको स्क्रिनसटमा हिन्दी भाषामा उही विषय लेखिएको छ, जुन नेपालमा नेपाली भाषामा भएको छ। यहाँसम्म कि मार्क जुकरबर्गको फोटोसमेत उही छ। हेर्नुस् तथ्य जाँच।

डिस्ट्र्याक्टिफाइ डट कमले गएको अक्टोबरमा फेसबुकको @highlight फिचर बारे लेखेको छ। यसमा लेखिए अनुसार कमेन्टमा @highlight लेख्दा फेसबुक पोस्टको भिजिबिलिटी बढ्छ अर्थात् त्यो पोस्टलाई धेरैले देख्न सक्छन्।

हामीले कमेन्टमा @highlight लेख्दा के हुन्छ भनी नेपालफ्याक्टचेकको फेसबुक पेजमा कमेन्ट पनि लेखिहेर्‍यौँ। यसो गर्दा फेसबुकले ‘some friends might receive notification’ अर्थात् केही साथीहरुले नोटिफिकेसन पाउन सक्छन् लेखेको देखिन्छ।

हामीले फेसबुकको आधिकारिक वेबसाइटमा पनि खोज्यौँ। त्यसमा पनि @highlight कमेन्टमा लेखेर ह्याक हुने/नहुने बारे थाहा पाउन सकिने लेखेको भेट्टाएनौँ। बरु आफ्नो खाता सुरक्षित राख्न फेसबुकले यस्तो उपाय सुझाएको छ

तपाईंले आफ्नो खाता सुरक्षित राख्न गर्न सक्ने केही कुराहरू यस प्रकार छन्।

आफ्नो पासवर्ड सुरक्षित राख्नुहोस्

  • आफ्नो Facebook पासवर्ड अन्य कुनै ठाउँमा अनलाइन प्रयोग नगर्नुहोस् र कहिल्यै पनि अन्य मानिसहरूसँग साझा नगर्नुहोस्
  • तपाईंको पासवर्ड अनुमान गर्नका लागि गाह्रो हुने भएकाले आफ्नो नाम वा सामान्य शब्दहरू प्रयोग नगर्नुहोस्।
  • भरपर्दो पासवर्ड सिर्जना गर्ने तरिकाका बारेमा थप जान्नुहोस्।

कहिल्यै पनि आफ्नो लगइन जानकारी साझा नगर्नुहोस्

  • स्क्यामरहरूले Facebook जस्तै देखिने झुटा वेबसाइटहरू सिर्जना गरेर तपाईंलाई आफ्नो इमेल र पासवर्ड प्रयोग गरी लगइन गर्न लगाउन सक्छन्।
  • आफूले आफ्नो लगइन जानकारी प्रविष्ट गर्नुअघि सधैँ वेबसाइटको URL जाँच्नुहोस्। सन्देह भएका बेला Facebook मा जानका लागि आफ्नो ब्राउजरमा www.facebook.com टाइप गर्नुहोस्।
  • Meta का इमेलहरूमा तपाईंको खाताका बारेमा संवेदनशील जानकारी हुन सक्ने भएकाले तिनलाई अन्य व्यक्तिहरूलाई फर्वाड नगर्नुहोस्।
  • फिसिङबाट बच्ने तरिका का बारेमा थप जान्नुहोस्।

आफूले अन्य मानिसहरूसँग साझा गर्ने कम्प्युटर प्रयोग गर्दा Facebook बाट लग आउट गर्नुहोस्।

तपाईंले नचिन्ने मानिसहरको साथी बनाउने अनुरोध स्वीकार नगर्नुहोस्।

  • स्क्यामरहरूले मानिसहरूसँग साथी बनाउनका लागि नक्कली खाता सिर्जना गर्न सक्छन्।
  • स्क्यामरहरूसँग साथी बन्नुले तिनलाई तपाईंको टाइमलाइनमा स्प्याम गर्न, तपाईंलाई पोस्टहरूमा ट्याग गर्न र तपाईंलाई मालिसियस सन्देशहरू पठाउन दिन्छ।

मालिसियस सफ्टवेयरबाट होसियार रहनुहोस्

  • मालिसियस सफ्टवेयरले कम्प्युटर, सर्भर वा कम्प्युटर नेटवर्कमा क्षति पुर्‍याउन सक्छन्।
  • भाइरसयुक्त कम्प्युटर वा यन्त्रका सङ्केत र मालिसियस सफ्टवेयर हटाउने तरिका जान्नुहोस्।
  • आफ्नो वेब ब्राउजर अप टु डेट राख्नुहोस् र शंकास्पद एप्लिकेसनहरू हटाउनुहोस् वा ब्राउजरका एड-अनहरू हटाउनुहोस्।

कहिल्यै पनि शंकास्पद लिंकहरूमा क्लिक नगर्नुहोस्, तिनीहरू साथी वा कम्पनीबाट आएको भए तापनि।

  • यसमा Facebook (उदाहरण: पोस्टहरूमा भएका) वा इमेलका लिङ्कहरू पर्छन्
  • Meta ले तपाईंलाई कहिले पनि इमेलमा तपाईंको पासवर्ड सोध्नेछैन भन्ने कुरा ख्याल गर्नुहोस्।
  • तपाईंले Facebook मा शंकास्पद लिङ्क देख्नुभयो भने त्यसबारे रिपोर्ट गर्नुहोस्

हाम्रो अतिरिक्त सुरक्षा विकल्पहरू प्रयोग गर्नुहोस्

अतः फेसबुकमा भाइरल भएको दावी मिथ्या ठहर्छ।

तथ्य जाँच

दावी : फेसबुक कमेन्टमा @highlight लेख्दा आइडी ह्याक हुने/नहुने थाहा हुन्छ।

दावीकर्ता : फेसबुक प्रयोगकर्ताहरु

तथ्य : मिथ्या सूचना। फेसबुक पोस्टको कमेन्टमा @highlight लेख्दा आइडी ह्याक हुने/नहुने थाहा हुँदैन।

'नेपाल फ्याक्टचेक' बाट

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया