पहाडका खेतबारीमा खनजोतका लागि सानो हाते ट्र्याक्टर प्रभावकारी बन्दै

 फागुन ४, २०८० शुक्रबार ८:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - पहाडी भेगका खेतबारीमा खनजोतका लागि सानो हाते ट्र्याक्टर अर्थात् मिनी टिलर प्रभावकारी बन्दै गएको छ । सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने र सानो सुर्कामा पनि प्रयोग गर्न मिल्ने भएकाले पहाडी भेगमा यस्तो ट्र्याक्टरको माग र प्रयोग बढ्न थालेको हो ।

पछिल्ला वर्षहरुमा काम गर्ने जनशक्ति कम हुँदा र गोरु पाल्ने चलन हराउँदै जाँदा खेतबारी खनजोतको लागि किसानले ट्र्याक्टरको प्रयोग गर्दै आएका छन् । पहिले तराई र उपत्यकाका ठूला फाँटहरुमा मात्रै ट्र्याक्टरबाट खनजोत हुने गरेकोमा अहिले पहाडमा समेत सानो हाते ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ । तराईका किसानले मझौला खालको पावर टिलर तथा पहाडका किसानले सानो खालको मिनी टिलर बढी प्रयोग गर्ने गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

साताैँ कृषि गणना २०७८ को तथ्याङ्क अनुसार देशभर १६ लाख ३९ हजार किसानले खनजोतको लागि ट्र्याक्टरको प्रयोग गर्दै आएका छन् । यस्तै, ४ लाख ७१ हजार अर्थात् ११ प्रतिशत किसान परिवारसँग हाते ट्र्याक्टर ‘पावर टिलर’ र ‘मिनी टिलर’ छ । यो दुई वर्ष अगाडिको तथ्याङ्क हो । त्यसयता हाते ट्र्याक्टरको प्रयोग झनै बढेको छ ।

गोरुले जोत्नुभन्दा हाते ट्र्याक्टरले खेतबारी जोत्न छिटो, सजिलो र सस्तो हुने भएकाले आधुनिक कृषि यन्त्रप्रति किसानको आकर्षण बढेको हो । गोरुले एक दिनमा जोत्ने खेत हाते ट्र्याक्टरले एक–दुई घण्टामा सक्ने भएकाले समय र श्रम समेतको बचत हुने किसानको भनाइ छ । अहिले बजारमा विभिन्न कम्पनीका हाते ट्र्याक्टर पाइन्छन् । कम्पनीको ब्रान्ड र क्षमताअनुसार एउटा ट्र्याक्टरको मूल्य ५०/५५ हजार रुपैयाँदेखि दुईलाख रुपैयाँसम्म पर्छ । तीनै तहका सरकारले किसानलाई अनुदानमा हाते ट्र्याक्टर दिने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठका अनुसार केन्द्र सरकारले कुल लागतको ५० प्रतिशत, प्रदेशले ७५ प्रतिशतसम्म र पालिकाले ९० प्रतिशतसम्म अनुदान दिने गरेका छन्।

कुनै पालिकाले त किसानलाई शत प्रतिशत अनुदानमै किसानलाई हाते ट्र्याक्टर वितरण गर्दै आएका छन् । तर राजनीतिक र प्रशासनिक पहुँचका आधारमा अनुदान दुरुपयोग हुने गरेको गुनासो पनि छ । कृषि विज्ञ कृष्ण पौडेलले सरकारी अनुदानमा साना किसानको पहुँच नपुगेको र अनुदानको ट्र्याक्टर दुरुपयोग हुने गरेको उदाहरण प्रशस्तै रहेको बताउनुभयो ।

साना किसानको पहुँचसम्म अनुदान पुर्याउन र दुरुपयोग रोक्न सकेमा मात्रै हाते ट्र्याक्टरको प्रयोगबाट कृषि उत्पादन बढाउन सकिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया