सर्लाहीमा उन्नत जातको मकैमा दाना लागेन, किसान चिन्तित

 चैत १७, २०८० शनिबार १२:२:४४ | रासस
unn.prixa.net

काठमाण्डौ – उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । बाग्मती, बरहथवालगायत क्षेत्रका सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेको हो ।

स्थानीय किसान चन्द्रबहादुर जिम्बाले मकैको घोगा राम्रै देखिएका तर दाना नलागेको गुनासो गर्नुभयो । प्रति किलो ६ सय ५० रुपैयाँमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि आफ्नो लगानी र मेहनत खेर गएको बाग्मती नगरपालिका–४ का किसान रामविश्वास महतोले बताउनुभयो ।

सर्लाहीका किसानले वर्षमा दुई पटक उन्नत जातको मकै रोप्ने गरेका छन् । उत्पादन लिन नसकेका धेरैजसो किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकैको बीउ लगाएको बताएका बाग्मती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिनुभयो । तर बीउ उत्पादक कम्पनीले मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको दाबी गरेको छ ।

नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गर्नुभएको छ । मङ्सिर पहिलो हप्तादेखि रोप्नुपर्ने मकै कात्तिकमै रोपिएको बीउ उत्पादक कम्पनीका नेपाल प्रतिनिधिको दाबी छ । नगरपालिकाको कृषि शाखाले क्षतिको विवरण सङ्कलन भैरहेको जनाएको छ ।

एक-दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गर्ने कृषि शाखाका अधिकृत अवधेशकुमार झाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया