नपिउने वाचा गरेको खुशी मनाउन नयाँ वर्षमा पियक्कडहरूको जमघट !

 बैशाख २, २०८१ आइतबार १३:१६:३८ | मिलन तिमिल्सिना
unn.prixa.net

प्रतीकात्मक तस्बिर

वर्षान्तको रात घ्याम्पै रित्याउने गरी पिएपछि उसले कसम खायो, भोलि नयाँ वर्षदेखि जाँड–रक्सी हेर्दा पनि हेर्दिनँ । नयाँ वर्ष शुरु हुने दिन भोलिदेखि पिउने बानी चटक्कै छोड्छु भनेर सुतेको ऊ भोलिपल्ट मध्याह्न भएपछि बिउँझियो । आँखा मिच्दै उठ्यो । जिउ तन्कायो । मोबाइल हेर्‍याे । ओहो ! आज त नयाँ वर्षको पहिलो दिन । साथीहरूले घुम्न जाउँ भनेका थिए, ढिलो भइसक्यो । हतारहतार नित्यकर्म सकेर बाटो लाग्यो । साथीहरूको जमघट अघि नै शुरु भइसकेको रहेछ । नयाँ वर्षको खुशीयालीमा रमाइलो त गर्नुपर्‍याे । साथीहरूले पिउन कर गरे । उसले पिउँदिन भनेर कसम खाएको कुरा सुनायो । साथीहरू गलल्ल हाँसे ।

‘पिउन छोडेको उपलक्ष्यमा पनि पिउनुपर्छ’ एक जनाले भने ।

‘हैन हैन पिउँदै पिउँदिन भनेर कसम खाएको उपलक्ष्यमा चाहिँ पिउनुपर्छ’ अर्कोले भन्यो ।

‘मैले छोड्छु भनेर वाचा गरेको १० वर्ष भइसक्यो र त पिइरहेको छु’ अघिदेखि नै पिइरहेको अनुभवी बोल्यो ।

पिउने मामिलामा ‘वाचा, कसम, प्रतिबद्धता, प्रण भन्ने कुरा त भन्नलाई मात्रै हो, व्यवहारमा लागू गर्न सुहाउँदैन साथीहरू’ अर्को पियक्कले दर्शन छाँट्यो ।

त्यसपछि उसले पिउन छाड्छु भनेर एक शायरले कसम खाँदा खाँदा कतिपल्ट कसम खाएँ भन्ने कुरा नै बिर्सेको एउटा कहावत सम्झ्यो । साथीहरूले सद्भावको भेल नै बगाएपछि उसलाई पनि यो वर्ष पिउँदिन भनेर वाचा गरेको खुशीयालीमा पिउनुपर्‍याे जस्तो लाग्यो । त्यसपछि लु त लु एकपल्टलाई भनेर पिउन अघि सर्‍याे । अब पिउँदिन भनेर पनि मान्छेले किन पिउन छाड्दैनन् भन्ने विषयमा पियक्कडहरूबीच छलफल शुरु भयो ।

हेर साथी हो, यो वर्षदेखि पिउँदिन भनेर सबैजसोले कसम खान्छन् । कसम खाएजस्तै सबैले नपिउने हो भने हाम्रो समाज, हाम्रो देश, हाम्रो संस्कार, रीतिरिवाज र संस्कृति के होला विचार गर त ।

सबैभन्दा पहिलो कुरा बजार सुनसान हुन्छ । अर्थतन्त्र डामाडोल हुन्छ । अहिले बजारमा चामल, दाल र तरकारी बेच्नेहरू गालामा हात लगाएर बसेका होलान् । तर रक्सी बेच्नेलाई एकछिन फुर्सद छैन । कतिको घरमा पकाउने कुरा नभएर भान्सा सुनसान भएको होला तर भट्टीमा सधैँ चहलपहल छ ।

मध्यरातमा पनि सडक सुनसान हुन पाएको छैन । मान्छे लरबरिँदै, हल्लँदै हिँडिरहेका छन् । कुकुर भुकिरहेका छन् । हामीजस्ता पेय प्रेमीहरूकै कारण बजारमा चहलपहल बढेको छ । भोज, भतेर र पाटी प्यालेसमा रमझम छ । मापसे जाँच भन्दै ट्राफिक प्रहरीले पैसा उठाउन पाएका छन् । सरकारको राजस्व बढेको छ । पास्नी, न्वारन, जन्मदिन, ब्रतबन्ध, विवाह लगायतका काजकर्ममा छुट्टै रौनक र उत्साह थपिएको छ ।

मैले पनि नपिउने, तैँले पनि नपिउने, सबैले नपिउने हो भने के होला ? मदिरा उद्योगको हालत के होला ? गाउँ–शहरका भट्टी र रक्सी पसलको अवस्था के होला ? सुखदुःख, उत्सव समारोह, काजकर्म पानी पिएर र दालभात खाएर चल्छ ? त्यसैले साथी हो पिउँदिन भनेर कसम खानु र कसम खाएर पनि पिउन नछोड्नु हाम्रो मौलिक संस्कार हो । यो संस्कारलाई पालना गर्नु हाम्रो कर्तव्य हो ।

पिउँदिन भन्नेले नपिउने, झुटो बोल्दिन भन्नेले साँचो मात्रै बोल्ने, कुलत छोड्छु भन्नेले सही बाटो मात्रै हिँड्ने हो भने त देशमा सज्जन मात्रै हुने भए । सज्जन मान्छे मात्रै भए भने मान्छेले चोर्न छोड्लान् । चोर, डाँका, फटाहा नै नहुने हो भने यति धेरै प्रहरीले के काम गरेर बस्ने ? जागिर खाइरहेका प्रहरी पनि बेरोजगार हुन्छन् । प्रहरीमा जागिर खान खोजेकाहरू पनि विदेश हानिन्छन् । हरिवंश आचार्यले टेलिसिरियलमा भनेजस्तो चोर नहुने हो भने प्रहरीको पनि काम नहुने भयो । बलिया घर नबन्ने भए । बलिया घर नबन्दा सिमेन्छ, छड, इँटाको उत्पादन हुन छोड्ने भयो । ती क्षेत्रमा काम गर्ने हजारौँ मजदुरको रोजगारी गुम्ने भयो । उद्योगधन्दा चौपट हुने भयो । त्यसैले नयाँ वर्षदेखि चोरी, डकैती गर्दिन भन्नेले पनि वाचा तोड्नैपर्छ ।

नयाँ वर्षमा शुभकामना दिँदा नेताहरूले पनि विकास, सुशासन र समृद्धिको वाचा गर्छन् । भ्रष्टाचार र ढिलासुस्ती हटाउने प्रण गर्छन् । तर साँच्चै भ्रष्टाचार गर्न छोड्ने हो भने अख्तियारले के गरेर दिन काट्ने ? पत्रकारले के समाचार लेख्ने ? कसम खाएझैँ विकास र समृद्धिको काम अहिल्यै गर्न थाले भोलिपर्सि के का लागि राजनीति गर्ने ? के भनेर भोट माग्ने ?

सबैभन्दा महत्त्वपूर्ण कुरा त कसम खानेबित्तिकै कुलत छाडिहाल्ने हो भने अर्को नयाँ वर्षमा के छोड्छु भनेर कसम खाने ? के भनेर शुभकामना दिने ? त्यसैले साथी हो अर्को वर्ष फेरि कुलत छोड्छु भनौँला, अहिलेलाई चाहिँ अर्को पेग थपौँ त !

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया