उपचारका क्रममा ज्यान गुमाएकी दैलेखकी भिमा बलामीको शव अझै अस्पतालमा

 बैशाख ४, २०८१ मंगलबार १२:२:८ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा ज्यान गएको आज छ दिन बितेको छ । हिँडेरै उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी उहाँको पाठेघर सफा गर्ने क्रममा चैत २९ गते ज्यान गएको थियो ।

तल्लो पेट दुख्ने र रगत बग्ने समस्या भएपछि नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलमा सिपाही पदमा कार्यरत भिमाका श्रीमान् नमराजले अस्पताल पुर्‍याउनुभएको थियो । तर उपचारका क्रममा ज्यान गएपछि परिवार र आफन्तले अस्पतालको टोलीले अप्रेसनमा लापर्बाही गरेको आरोप लगाउँदै आएका छन् ।

भिमाको शव अझै अस्पतालमै रहेको छ । मृतकको आठ महिने छोरी बिवाङ्गसीको पालनपोषण र शिक्षाको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा उपचारमा लापर्बाही गर्नेलाई कारबाहीको माग राखेर पीडित पक्षले आन्दोलन गर्दै आएका छन् । आफ्ना मागमा सरकारी पक्षबाट बेवास्ता गरिएको भन्दै पोस्टमार्टम गर्न पीडित पक्षले अस्वीकार गर्दै आएका छन् ।

पीडित पक्षले मृतकको गाउँ आठबीस नगरपालिका–५ पिपलकोटमा हिजो र अस्ति कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए । पीडित परिवार, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का तथा प्रशासनको टोलीबीच छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया