सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन जोगाउने दलहरूको तयारी

 बैशाख ४, २०८१ मंगलबार १५:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी थालेको छ । मुख्यमन्त्री आफ्नो दलले नपाएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाएको छ ।

एमाले र माओवादीले भने नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई समर्थन गरेका छन् । तर एकीकृत समाजवादीविना सुदूरपश्चिममा सरकार बन्न नसक्ने, अरू प्रदेशमा पनि गठबन्धनका सरकार ढल्न सक्ने र सङ्घीय सरकारलाई समेत असर पर्ने भएकाले गठबन्धनका दलहरूले मध्यमार्गी बाटो खोज्ने भएका हुन् ।

आज बिहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने विषयमा लचकता देखाउनुभएको छ । मुख्यमन्त्रीमा नयाँ समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले केन्द्रीय सत्ता गठबन्धनसँग गरेको विद्रोहबाट पछाडि फर्किनेछ ।

यसअघि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गरेको थियो ।

एकीकृत समाजवादीलाई केही समयका लागि मुख्यमन्त्री दिएर अहिलेको सङ्कट टार्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सकारात्मक हुनुभएको छ । तर नागरिक उन्मुक्तिका सात जनामध्ये धेरैजसो सांसद रेशम चौधरी गुटमा रहेका छन् । मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख निजर मियाँले कानुनी परामर्श गरिरहनुभएको छ ।

५३ सदस्यीय सुदूरपश्चिममा बहुमतका लागि २७ जना सांसदको आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका ४ जना सांसद छन् । त्यस्तै राप्रपाका एक जना र एक जना स्वतन्त्र सांसद छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया