नाटकीय खेलमा जापानलाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा

क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने

 असार १८, २०७५ मंगलबार ५:२९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै बेल्जियम रुसमा जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एशियाली प्रतिस्पर्धी जापानलाई बेल्जियमले ३ – २ गोलले हराएको हो । दुई गोल उसका सब्सिच्युड खेलाडीले गरे ।

रसियाको रोस्तोभ एरिना रंगशालामा भएको खेलमा कुनै समय बेल्जियमले आफ्नो पकड गुमाइसकेको थियो । तर, उसले शानदार पुनरागमन गर्न सफल भयो । खेलमा पाँचै गोल दोस्रो हाफमा सम्भव भयो ।

विश्वकपको नकआउट चरणमा दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै खेल जित्ने बेल्जियम दोस्रो टोली बनेको छ । यसअघि सन् १९७० मा पश्चिम जर्मनीले इंग्ल्याण्डबिरुद्ध यस्तै नतिजा निकालेको थियो ।

क्वार्टरफाइनल चरणमा बेल्जियमले पाँच पटकको च्याम्पियन ब्राजिलसँग खेल्नेछ । राती नै भएको खेलमा मेक्सिकोलाई २ – ० गोलले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो ।

विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा महंगो (खेलाडीको मूल्यका आधारमा) टोली बेल्जियम पहिलो हाफमा भने प्रभावकारी बन्न सकेन । तर उसले जापानलाई दबाबमा राखेको थियो । उसका लागि स्टार स्ट्राइकर रोमेलु लुकाकुले दुई शानदर मौका खेर फालेका थिए ।

तर, दोस्रो हाफको सुरुमै बेल्जियमले २ गोल खान पुग्यो । ४८औं मिनेटमा गाको सिवाशाकीको उत्कृष्ट पासमा गेन्को हारागुचीले वान भर्सेस वानमा गोल गरे ।
त्यसको चार मिनेटपछि नै उपाधिको दावेदारमध्येको एक बेल्जियमबिरद्ध जापानले दोहोरो अग्रता बनायो ।

सिञ्जी कागावाको पासमा ताकासी इनुइले करिब २५ यार्डबाट प्रहार गरेको शट बेल्जियन किपर थियागो कोट्वालाई चक्मा दिँदै गोलमा परिणत भएको थियो ।

तर, बेल्जियम खेलमा फर्कियो । ६९औं मिनेटमा जान भर्टोनघानले पेनाल्टी एरियाको दायाँपट्टीबाट गरेको हेडर आकर्षक गोलमा परिणत भएको थियो ।
७४औं मिनेटमा बेल्जियमले बराबरी गोल फर्कायो । ६५औं मिनेटमा ड्राइज मार्टिन्सलाई प्रतिस्थापन गरेका मोरुन फेलिनीले हेडमार्फत गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा बेल्जियमका सब्सिच्युड स्टइकर नासिर चाड्लीले पेनाल्टी एरियाबाट क्लोज रेञ्ज शट प्रहार गरी खेलको नाटकीय अन्त्य गरे । यही गोलले बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा पुग्यो । उनी यान्निक कारास्कोको स्थानमा ६५औं मिनेतमा मैदान छिरेका थिए ।

विश्वकपमा मंगलबार प्रिक्वार्टरफाइनल चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । जसमा स्वीट्जरल्याण्ड र स्वीडेन तथा इंग्ल्याण्ड र कोलम्बिया आमने सामने हुनेछन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया