ट्राफिक लाइट बल्दा राम्रै भयाे तर जाम हटाउन सार्वजनिक यातायात सुधार हुनैपर्छ

 माघ २८, २०७६ मंगलबार १४:१०:४५ | आशिष गजुरेल
unn.prixa.net

मैले जर्मनीमा अध्ययन सकेर सन् २०१० मा नेपाल आएपछि पनि शहरको यातायात व्यवस्थापन र ट्राफिक लाइटको निर्माण, सुधार र विस्तारबारे निरन्तर लेख्दै, बोल्दै आइरहेको छु । म र मेरो टिमले कयौँ पटक सार्वजनिक कार्यक्रम गरेका छौँ, पटक पटक सम्बन्धित निकायमा धाएका छाैँ, अहिले पनि यो क्रम चलिरहेको नै छ । 

लामो समयपछि काठमाण्डौका केही ठाउँमा ट्राफिक लाइट बल्न थालेका छन् । यो हामी शहरवासीकाे लागि खुशीको कुरा हो । चोक चोकमा ट्राफिक प्रहरीले हातको इसारामा गाडी यताउता पठाउने र रोक्ने दृश्य केही कम भएका छन् ।

शहरको ट्राफिक व्यवस्थापनमा ट्राफिक लाइटको महत्व अति धेरै हुँदाहुँदै पनि काठमाण्डौ लगायतका शहरमा ट्राफिक लाइट थप्ने योजना बनेनन्, उल्टै पहिले बल्ने ट्राफिक लाइट पनि मासिँदै गएका थिए । अहिले भने लामो प्रयास, बहस र दबाबपछि काठमाण्डौका मुख्य चोकहरुमा ट्राफिक लाइट बल्न थालेका छन् । अब यसको निरन्तरता जरुरी छ । अहिले बलिरहेका ट्राफिक लाइटलाई सवारीको चाप सुहाउने गरी मिलाउने र निरन्तरता दिने अनि अरु ठाउँमा पनि ट्राफिक लाइट निर्माण गर्नु अहिलेको आवश्यकता हो । 

प्राविधिक र आर्थिक हिसाबले धेरै महँगो छैन

ट्राफिक लाइड जडानको लागि त्यस्तो ठूलो प्राविधिक जनशक्ति आवश्वयक पर्दैन र ठूलो लगानी पनि लाग्दैन । यसमा एकदमै जटिल खालको इञ्जिनियरिङ पनि प्रयोग गर्नुपर्दैन, साधारण इञ्जिनियरिङको माध्यमबाट नै यसको निर्माण र सञ्चालन गर्न सकिन्छ । लगानीका हिसाबले पनि यसमा ठूलै बहस हुने गरी महँगो छैन । केही लाख रुपैयाँमै यस्ता बत्ती बनाउन र बाल्न सकिन्छ । यसको लागि विदेशका इञ्जिनियरको आवश्यकता पनि पर्दैन, अहिले बलिरहेका धेरै लाइट हाम्रै देशका इञ्जिनियरले तयार पार्नुभएको हो । त्यसैले ट्राफिक लाइट भन्ने बित्तिकै ठूलो प्राविधिक क्षमता र आर्थिक भार भन्ने कुरा गलत हो ।

ट्राफिक लाइटको सही व्यवस्थापन जरुरी

तर ट्राफिक लाइट बनाउन र बाल्नको लागि ठूलो इञ्जिनियरिङ/प्रविधि र लगानी नचाहिए पनि यसको प्रभावकारी उपयोगको लागि भने अध्ययन र क्षमता चाहिन्छ । काठमाण्डाैमा अहिले केही ठाउँमा सवारी चाप धेरै भइरहेको दिशा र कम सवारी भइरहेको दिशामा समान समय राखेर रातो र हरियो बत्ती बालिएको छ । यसले गर्दा हरियो बत्ती बलिरहेको दिशातर्फ सवारीसाधन नै नहुने र अर्कोतर्फ सयाैँ सवारीसाधन रातो बत्तीमा अड्किएको देखिन्छ । गाडीको चापअनुसार ट्राफिक लाइट पनि परिवर्तन हुने गरी यसको समय मिलाउनुपर्छ । 

यस्तै कार्यालय समयमा कतातर्फ गाडीको चाप धेरै हुन्छ भन्ने अध्ययन गरेर त्यसैअनुसारको सेटिङ ट्राफिक लाइटमा हुनुपर्छ । उदाहरणको लागि बिहानको कार्यालय समयमा कोटेश्वरतर्फ आउने सवारी अत्याधिक हुन्छन्, भक्तपुरतर्फ जाने केही कम हुन्छन् । बेलुकाको कार्यालय समयमा भने भक्तपुरबाट काठमाण्डाैतर्फ आउने सवारी केही कम हुन्छन्, कोटेश्वरबाट भक्तपुरतर्फ भने धेरै नै चाप हुन्छ । 

ट्राफिक लाइटमा रेड सर्कल र ग्रीन सर्कल हुन्छ । हाम्रोमा २४सैँ घण्टा एउटै सर्कलमा लाइट बलेका हुन्छन् । तर गाडीको चाप र अवस्था हेरेर ग्रीन र रेड सर्कलको व्यवस्था गर्नुपर्छ । यसो गरे मात्रै ट्राफिक लाइटको प्रभावकारिता बढ्छ । अर्को ग्रीन वेभको कुरा पनि आउँछ । ग्रीन वेभ भनेको तपाईँले एउटा हरियो लाइट पार गर्नुभयो भने कम्तीमा तीन वटा हरियो लाइट पार गर्नुपर्छ । एउटा हरियो लाइट पार गरेपछि तपाईँ तीन ठाउँमा रातो बत्तीमा रोकिनु नपरोस् । 

तर अहिले काठमाण्डौमा ग्रीन वेभ पनि छैन । तपाईँ लामो समय जाममा बसेर एउटा हरियो बत्ती पार गर्नुभयो भने पल्लो चोकमा पुग्दा रातो लाइट भेट्नुहुन्छ । त्यसैले हाम्रा ट्राफिक लाइटमा ग्रीन वेभको सिस्टम मिलाउनुपर्छ । लामो समयपछि भर्खरै ट्राफिक लाइट बल्न थालेका छन्, अब यिनको सही उपयोगतर्फ ध्यान दिनुपर्छ । 

ट्राफक लाइट बल्दैमा र सडक चौडा बनाउँदैमा जाम हट्दैन, सार्वजनिक यातायात सुधार हुनैपर्छ

काठमाण्डौका केही ठाउँमा ट्राफिक बत्ती बलेको छ, यो सबैको लागि खुशीकाे कुरा हो । तर अब ट्राफिक लाइट बल्यो, शहरमा जाम हुन्न र दुघर्टना हुन्न भने जसरी पनि बहस भइरहेको छ । तर त्यस्तो होइन, शहरको ट्राफिक व्यवस्था सहज बनाउन र यात्रुले पनि आरामले यात्रा गर्न सार्वजनिक यातायात सुधार नगरि हुन्न ।

अहिले काठमाण्डाैमा चलिरहेका माइक्रोबस, मिनिबस, टेम्पोले यात्रुलाई कस्तो सेवा दिएका छन्, समयको कत्तिको पालना गरेका छन्, आरामदायी छन् कि छैनन् लगायतका कुरालाई हामीले हेर्नुपर्छ । 

हामीले आजसम्म सडक विस्तारलाई मात्रै ध्यान दियौँ, अहिले ट्राफिक लाइटलाई नै जाम हटाउने मुख्य उपाय जस्तो गरेर प्रचार गरिरहेका छौँ । यदि सडक विस्तारले मात्रै जाम हट्ने भए अहिले माईतीघर–तिनकुने, तिनकुने–सूर्यविनायक लगायतका सडकमा जाम किन हटेको छैन त ?

अहिले काठमाण्डौका हरेक जसो ठाउँमा सडक विस्तार भइरहेको छ, ती सडकमा १/२ वर्षपछि नै जाम भइरहेको छ । यदि सडक विस्तार गरेर जाम हट्ने भए त त्यहाँ जाम नहुनुपर्ने हो । 

हामीले अहिले सडक विस्तार र ट्राफिक लाइटमा ध्यान दिएका छौँ, अब सार्वजनिक यातायात सुधारमा ध्यान दिनुपर्छ । सार्वजनिक यातायात सुधार नभएसम्म सडक विस्तार र ट्राफिक लाइटले मात्रै जाम हट्दैन । 

शहरमा मोटरसाइकल र कारको सङ्ख्या निकै तीव्र गतीमा बढ्नुको कारण भद्रगोल सार्वजनिक यातायात नै हो । यदि सुविधायुक्त सार्वजनिक यातायात हुने हो भने निजी गाडी चढ्नेको सङ्ख्या निकै घट्छ र यसले शहरको जाम कम हुन सक्छ । 

अहिले शहरमा सार्वजनिक गाडीको राम्रो सेवा नहुँदा मान्छेले ऋण गरेर मोटरसाइकल र कार किनिरहेका छन् । निजी गाडी चढ्दा खर्च पन उत्तिकै धेरै हुन्छन् ।पार्किङको समस्या छ, प्रदूषण पनि धेरै । 

तर भरपर्दो र सुविधायुक्त सार्वजनिक सवारीसाधन भएमा निजी गाडी एकदमै कम चल्छन् । त्यसो भयो भने जाम कम हुन सक्छ । 

सार्वजनिक सवारीमा सरकारी लगानी अनिवार्य, नाफामुखी होइन सेवामुखी

सार्वजनिक यातायातमा सरकारले लगानी नगरेसम्म ट्राफिकको समस्या समाधान हुन सक्दैन । निजी क्षेत्रले लगानी गर्‍याे भने अलि धेरै फाइदा कमाउन खोज्छ, बढी फाइदा कमाउन खोज्दा कोचाकोच यात्रु राख्ने, एउटै स्टपमा धेरैबेर रोक्ने, यात्रुसँग चालक र सहचालकले  झगडा गर्ने, अर्को गाडीसँग अस्वस्थ प्रतिस्पर्धा गर्न खोज्दा दुघर्टना हुने लगायतका समस्या देखिएका छन् । 

तर सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने र नाफारहित सेवा दिन सक्ने हो भने धेरै यात्रु सार्वजनिक यातायाततर्फ आकर्षित हुन्छन् । सरकारले यातायात क्षेत्रलाई नाफामुखी बनाउनै हुँदैन, यसलाई सेवामुखी बनाउनुपर्छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सरकारलाई घाटा पनि हुन सक्छ, तर यसलाई निरन्तरता दिनुपर्छ ।

विश्वका धेरै देशमा हेर्नुहोस् त एक जना यात्रु लिएर दुई सय सिट क्षमताको रेल गुडिरहेको हुन्छ, ५० सिटे बस दुई जना यात्रु लिएर गुडेको हुन्छ । त्यही भएर ती देशमा सार्वजनिक यातायातप्रतिको भरोसा छ । 

यात्रु भए चल्ने नत्र नचल्ने, नाफा भए चल्ने नत्र बन्द गर्ने जस्ता क्रियाकलाप गरेमा नागरिकले सार्वजनिक यातायातलाई विश्वास गर्दैनन्, आफ्नै गाडी किन्छन् र फेरि जामको समस्या सुरु हुन्छ । 

(शहरी यातायात पूर्वाधारविज्ञ आशिष गजुरेलसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन २९, २०७६

आशिष गजुरेल

गजुरेल शहरी यातायात तथा पूर्वाधार विज्ञ हुनुहुन्छ । 

2 Comments

  • Hari Kriahna Shrestha

    Feb. 13, 2020, 6:23 a.m.

    We are suffering a lot in Nepal in absence of reliable public transport. In other hand, traffic lights are fundamental for traffic management as we have seen in developed countries. As the writer says these two aspects must go hand in hand. Thank you for highlighting such needed issues.

  •  0 Reply
  • रमेश शर्मा

    Feb. 11, 2020, 9:28 p.m.

    राज्यले सार्बजनिक यातायातमा लगानी नगरेसम्म नेपालको यातायात क्षेत्र सुधार हुन्न ! यो कुरो सबैले बुझ्न जरुरि छ |

  •  0 Reply

तपाईको प्रतिक्रिया