७० वटा पुल बाढीको जोखिममा, सडक निर्माणका सबै काम अलपत्र

 बैशाख ४, २०७७ बिहिबार १२:७:२९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को कारण नेपालका बन्दै गरेका सडक र पुलको काम ठप्प भएको छ । मुख्य काम हुने मौसममा कोरोना भाइरस रोकथामको लागि सरकारले लकडाउन गर्दा पुल र सडकको काम पूरै प्रभावित भएको छ । बर्खाअघि नै खोलामा भर्खरै उठाउन थालेका र टेका दिएर राखेका पूलको काम नसकिए खोलाले बगाउने जोखिम रहेको सडक विभागले जनाएको छ ।

सबै राजमार्गको काम ठप्प

कारोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले सीमा नाका बन्द गरेको छ । जसका कारण विदेशी ठेकेदार कम्पनीका मान्छे नेपाल आउन पाएका छैनन्, विदेशबाट आउने उपकरण आउन पाएका छैनन् । नेपालमै पनि लकडाउनका कारण ठेकेदार तथा कामदार घरबाट निस्कन पाएका छैनन्, निर्माण सामग्री ओसार्ने गाडी गुडेका छ्रैनन् । त्यसकारण निर्माणाधीन र विस्तारको क्रममा रहेका सडकको काम ठप्प छ । 

एक सय १४ किलोमिटर लामो नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम पनि कोरोनाकै कारण अलपत्र परेको छ । चिनियाँ ठेकेदार, कामदार उपकरण नै उतै रोकिएका छन् । रुख र बिजुलीका पोलको विवादले एक वर्ष ढिला काम सुरु भएको यो सडकलाई कोरोनाले अर्को धक्का पुर्‍याएको छ । 

कोरोनाले मध्यपहाडी लोकमार्गमा पनि असर गरेको छ । मध्यपहाडी लोकमार्गको एक सय ८० किलोमिटर क्षेत्र कालोपत्रे गर्ने काम चैत महिनाभित्रै सक्ने लक्ष्य रहेकोमा त्यो लक्ष्य असफल भएको सडक विभागका महानिर्देशक केशव शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । ‘सबै काम सकेर ठ्याक्क पिच हाल्ने बेलामा कोरोनाको महामारी आयो, अहिले काम ठप्प गर्नुपरेको छ’, महानिर्देशक शर्माले भन्नुभयो । 

यस्तै मदन भण्डारी राजमार्गको हेटौँडा–सिन्धुली–उदयपुर खण्डको काम पनि रोकिएको छ । निकै द्रूत गतिमा काम भइरहेको यो खण्ड तोकिएको समयअघि नै सक्ने लक्ष्य थियो तर कोरोनाको कारण तोकिएको समयभन्दा ढिला सम्पन्न हुने विभागले जनाएको छ । 

यस्तै कोशी, कर्णाली र गण्डकी करिडोरका सबै सडक निर्माण अहिले प्रभावित भएका छन्  । 

‘केही ठाउँमा काम भइरहेको छ तर नगण्य मात्रै छ । हामीले लक्ष्य राखेको समयमा रिजल्ट नदिने तरिकाले मात्रै काम भइरहेको छ’, महानिर्देशक शर्माको भनाइ छ । 

झण्डै ७० वटा पुल बाढीको जोखिममा

खोलामा निर्माणको क्रममा रहेका झण्डै ७० वटा पुल बर्खे भेलको बाढीले बगाउने जोखिम रहेको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख दीपक भट्टराईका अनुसार ठूला राजमार्ग र केही मध्यम मार्गका ७० वटा पुल भेलले बगाउने जोखिम छ । अहिले पनि त्यस्ता पुलको तथ्याङ्क सङ्कलन भइरहेको छ । 

दाङको धारापानीमा बन्दै गरेको बबर्इ नदीको पुल जोखिममा छ । बाँके मच्छेवारको राप्ती नदी पुल, कालीगण्डकी पुल पोखरेबगर म्याग्दी, त्रिशूली पुल बुद्धसिंह नुवाकोट, देवनिया पुल भद्रपुर झापा, मोहना नदी पुल धनगढीलगायतका पुल जोखिममा छन् । 

‘खोलामा टेका लगाएको र कङ्क्रिटिङ गर्न बाँकी रहेको अथवा नयाँ प्रविधि अनुसार कङ्क्रिटिङ भएको र टेन्डन हटाउनुपर्ने अवस्थाका पुल जोखिममा छन्, हाम्रो अहिलेको मुख्य चिन्ता नै यै हो’ विभागमा महानिर्देशक केशव शर्माले भन्नुभयो, ‘यी पुलको काम गर्न नसकेमा बाढीले पुल भत्काउने निश्चित छ ।’

अहिले यस्ता पुलको काम गर्न नपाएमा बर्खामा भेलले बगाउने र अर्को हिउँद कुर्नुपर्दा फेरि एक वर्ष पर धकेलिने डर रहेको शर्मा बताउनुहुन्छ । 

‘अहिले ढलान गर्न सकेमा तीन/चार हप्तामा उपयोगमा ल्याउन सकिन्छ तर अब ढिला भयो भने यसले अर्को एक वर्ष पर धकेल्छ, त्यसैले पुलको चासो र चिन्ता बढेको छ’, उहाँको भनाइ छ । 

जोखिममा रहेका र काम नगरी नहुने पुलको विवरण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको र गृह मन्त्रालयबाट पास गर्ने व्यवस्थाको लागि अनुरोध भएको विभागले जनाएको छ । 

गौशाला–चावहिल सडक छिटै सुधार हुने

काठमाण्डौ उपत्यकाका केही सडकमा रङ्ग रोगन गरेर र रेखा कोरेर सडक विभागले चिटिक्क बनाएको छ । त्यो कामको धेरै प्रशंसा पनि भइरहेको छ । तर वर्षौँदेखि थला परेको गौशला–चावहिल सडकको अवस्था भने सुध्रन सकेको छैन । सडकको बीच भागबाट खानेपानीका पाइप लगिएको कारण पटक पटक सडक मर्मत गरे पनि फेरि उस्तै बेहाल हुँदै आएको छ । 

त्यसैले सडक विभागले सडकको छेउमा खानेपानीका पाइप राख्न सम्बन्धीत निकायलाई अनुरोध गर्‍यो । अहिले पाइप छेउमा सार्ने काम सकिएको तर सडकलाई उधिनेरै नयाँ तरिकाले काम गर्ने बेलामा लकडाउन हुँदा समस्या भएको सडक विभागले जनाएको छ । सडक खाली भएको बेला काम गर्न अनुमति मागिएको र अनुमति पाएमा १५ दिनभित्र गौशाला–चावहिल सडक चिटिक्क हुने विभागका महानिर्देशक केशव शर्माको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया