यूएईमा ज्यान गुमाएकी एक महिलाको दुई महिनापछि मात्रै अन्त्येष्टि

 बैशाख २६, २०७७ शुक्रबार १३:२१:४७ | उमाकान्त पाण्डे

यूएई – कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ज्यान गुमाएकी एक महिलाको दुई महिनापछि यूएईमै अन्त्येष्टि गरिएको छ । झापा अर्जुनधाराकी निता चौधरीको ज्यान गएको झण्डै दुई महिनापछि बिहीबार यूएईको अलऐनमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।

७ महिना पहिले यूएईको रोयल क्याटरिङ्ग कम्पनीमा पुग्नुभएकी चौधरीले गएको फागुन १९ गते आत्महत्या गर्नुभएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द हुनु र नेपालमा लकडाउन पनि लम्बिएपछि परिवारको अनुमतिसहित उहाँको यूएईमै अन्त्येष्टि गरिएको हो । तर यो सबै प्रक्रिया पूरा गर्न समय लागेको थियो ।

पहिले त परिवारले शव नेपालमा नै लैजाने भनेपछि लकडाउन लम्बिंदै जाँदा शव नेपाल लैजान समस्या भएपछि यूएईमै अन्त्येष्टिका लागि परिवारले अनुमति दिएको हो । लकडाउनअघि नै शव लैजान अनुमति दिए पनि त्यसको दुई दिनपछि लकडाउन भएकाले शव नेपाल लैजान नसकिएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासमार्फत कन्सुलर सेवा, स्थानीय प्रशासन तथा परिवारसँग आबुधावीमै कार्यरत झापाकै दुर्योधन कार्कीले समन्वय गर्नुभएको थियो । शव नेपाल लैजान नसक्ने भएपछि दुबईमै कार्यरत मृतकका दाइ किशोर चौधरीसँग समन्वय गरेर शव यूएईमै अन्त्येष्टि गरिएको हो ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा २६ जनाको शव रोकिएको थियाे । बिहीबारसम्म ७ जनाको शव अन्त्येष्टिका लागि परिवारले अनुमति दिएकाले दूतावासले त्यही अनुसार अनुमतिपत्र प्रदान गरिसकेको छ । ५ जनाको अन्त्येष्टि भइसकेको छ । बाँकी दुईकाे अन्त्यष्टि भए नभएकाे जानकारी नभएकाे दूतावासले जनाएकाे छ ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया