कांग्रेस आज्ञाकारी प्रतिपक्ष बन्न तयार छ

 साउन १५, २०७५ मंगलबार ९:३८:१ | डा. मिनेन्द्र रिजाल

हामीसँग दुई तिहाइ मत छ, हामीलाई कसले के गर्न सक्छ र भन्ने सोचबाट सरकार अघि बढेको देखिन्छ । ६ वटै प्रदेशमा हाम्रै सरकार छ, एउटामा हाम्रै समर्थनमा सरकार छ भन्ने छ ।

संविधान संशोधन गर्नुपर्यो भने पनि संशोधन गर्ने तागत छ । त्यसैले संविधान मान्दैनौँ हामी, संविधानमा लेखेर के हुन्छ, संविधानमा लेख्ने कुरा लेख्या होला, हामीलाई बदल्ने ताकत भएको हुनाले हामी संविधान मान्दैनौँ भन्दै हुन्नुहुन्छ, उहाँहरु । त्यही हो सर्वसत्तावाद भनेको । त्यही हो अधिनायकवाद भनेको ।

विधिको शासनमा, कानूनी राजमा, संविधानवादको यात्रामा अनि हामी सबै मिलेर बनाएको संविधानले भनेको बाटोमा जो कोही पनि हिँड्नु पर्छ । संविधान हुँदासम्म राष्ट्रपतिदेखि लिएर नागरिकसम्म सबैले संविधान मान्नु पर्छ । ठूलो भएपछि संविधान मान्नु नपर्ने, सानोले संविधान मान्नुपर्ने भन्ने होइन ।

अहिलेको कम्युनिष्ट सरकार संविधानको व्यवस्था भन्दा बाहिर हिँडेको छ । यसका लागि सभामुख र उपसभामुखकै सन्दर्भ एउटा बलियो उदाहरण हुन सक्छ । संविधानको धारा ९१ को उपधारा २ ले भनेको के छ भने प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्छ । भनेको एक दिनका लागि फरक फरक दलको हुनुपर्छ, त्यसपछि एउटै दलको भए पनि केही छैन भनेर लेख्या छैन । 

उहाँहरु अहिले पनि दलको हुनुहुन्छ । राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ को उप दफा २ मा कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्याग गरेको मितिदेखि स्वतः रिक्त भएको मानिने छ भनिएको छ ।

उहाँहरुले दल त्याग गर्नुभएको हो भने उहाँहरु सांसद नै रहन सक्नु भएन । प्रतिनिधिसभाको सदस्य नै रहनु भएन । प्रतिनिधिसभाको सदस्य रहने हो भने उहाँहरु दलको रहनुभयो नि ।

यस्तै सभामुख र उपसभामुखको हकमा दफा ३३ को १ को (क) ले निर्वाचित भएको कारण देखाई राजीनामा दिएमा दल त्याग गरेको मानिने छैन भनेर पनि प्रष्टसँगै लेखिएको छ ।

संविधान प्रष्ट छ राजनीतिक दल सम्बन्धि ऐन प्रष्ट छ । उहाँहरु आजको दिनमा एउटै दलको सदस्य हो । या त उहाँहरु दल त्याग गर्नुभएको हो भने दलले सूचना दिनुपर्यो । दलले सूचना दिएपछि उहाँहरु सांसद नरहने, प्रतिनिधिसभाको सदस्य नरहने हुनसक्छन् । प्रदेशमा पनि त्यही प्रावधान हो ।

प्रदेशको सभामुख र उपसभामुख हुनेहरु पनि त्यही हो । या त उहाँहरु सांसद रहनु पर्यो । रहने योग्यता रहनका लागि जुन दलबाट आउनुभएको हो, त्यो दलसँगको संलग्नता कायम रह्यो ।

सभामुख र उपसभामुख पद नेकपा नेकपा बाहेकको हुनुपर्यो भन्ने हो । उहाँहरुले हामीलाई पद दिनुहुन्न भन्ने थाहा छ । हामीले आशा पनि गरेका छैनौँ । हामीले भनेको त संविधान मान्नुहोस् भनेको मात्रै हो । अरु जसलाई दिएपनि हुन्छ ।

यो कार्य संविधान विरोधी हो । अहिले सत्तापक्ष गलत नजिर बसाउने दुष्प्रयासमा छ ।   ६ वटा प्रदेश र देशका सभामुख उपसभामुख आज अदालतमा भएको मुद्धामा प्रतिवादी भएर बस्नु भएको छ । 

प्रतिवादी भएर मलाई यो व्यवस्था लाग्दैन । संविधानमा लेखे पनि म बस्छु भन्नु हास्यास्पद हो । संविधानको व्यवस्थालाई पालना नगराउनका लागि सर्वोच्चलाई दबाब सृजना गर्दै हुनुहुन्छ । सर्वोच्चलाई प्रभावित गर्दै हुनुहुन्छ ।

अर्को कुरो सर्वोच्चको प्रधानन्यायधीशको सुनुवाई सकिएको छ । तर निर्णय भइसकेको छैन । सत्तापक्षको सांसदहरुले हामी अहिले निर्णय गर्न तयार छैनौँ भनिरहेका छन् । प्रधानन्याधीशको सिफारिस संवैधानिक परिषदले गरेको हो । जसको मुख्य मान्छे प्रधानमन्त्री आफै हुनुहुन्छ । समितिमा सभामुख उपसभामुख पनि सत्तापक्षकै छन् । विपक्षी दलको त एक जना मात्रै हो । बाँकी सबै सत्तापक्षको हुनुहुन्छ । त्यहाँबाट निर्णय गरेर संसदीय सुनुवाइका लागि पठाइएको छ । 

सांसदीय सुनुवाई भनेको के हो ? सरकारले गर्न लागेको काम ठिक छैन भन्ने लाग्यो भने रोक्ने नभए ल भन्ने हो । जहाँसुकै यसलाई कन्फरमेसन हेयरिङ भनिन्छ । 

को काम भनेको त सरकारले प्रस्तावित गरेको, संवैधानिक परिषदले प्रस्तावित गरेको व्यक्तिलाई अन्यथा प्रमाण नदेख्दासम्म ठिकै छ भन्ने हो नि । 

यसमा पनि सत्तापक्षकै कारण निर्णय हुन नसक्नु भनेको यो अदालतलाई आफ्नो दुई तिहाइ रहुन्जेलसम्म । दुई तिहाइको बलमा एउटा निरन्तर रुपमा दबाबमा राखिरहन चाहनुहुन्छ भन्ने नै हो । 

यसो गर्नु भनेको सत्ताले संविधान मान्दिन भनेको हो । संविधान मान्दिन भन्न पाइँदैन । 

यही संविधानको आधारमा प्रधानमन्त्रीको नियुक्ति भएको हो । त्यसैले सत्तालाई चै संविधानको यो यो धारा मान्छु यो मान्दिन भन्ने हो भने प्रधानमन्त्री नियुक्ति भएको धारा मान्दिन भनेर अर्को सडकमा उफ्रियो भने के गर्ने ? 

एउटा सामान्य नागरिकलाई प्रधानमन्त्रीले संविधान मान्नुपर्दैन, सभामुख उपसभामुखले संविधान मान्नुपर्दैन भन्ने खालको संन्देस जान थालेको छ । 

मुखियाले नै संविधान भत्काउन खोज्ने ? 

संविधान बनाउन हामीले यत्रो ठूलो योगदान दियौँ भनेर उहाँहरु घमण्ड गर्नुहुन्छ । प्रधानमन्त्री कहिल्यै थाक्नुहुन्नथ्यो यो संविधान बनाउने मुखिया आफू नै हो भनेर ।

संविधान बनाउने मुखिया आफूलाई ठान्ने अनि अहिले संविधान भत्काउन थाल्ने । उहाँहरु संविधान भत्काउने बाटोमा हिँड्नु भएको हो ? हामी संविधान भत्काउन दिँदैनौँ । संवैधानिक प्रावधानभन्दा बाहिर उहाँहरु जान पाउनुहुन्न ।

लोकतन्त्रमा के बुझ्नु पर्यो भने चुनाव जितिसकेपछि जितेको दिनदेखि अर्को चुनाव नहुँदासम्म सरकारलाई जे मन लाग्छ गर भनेर लोकतान्त्रिक शासन चल्दैन । अधिनायकवादी शासन चल्ला त्यसरी । सर्वसत्तावादी शासन चल्ला त्यसरी । तर लोकतान्त्रिक शासनमा सरकार निर्वाचित भएपछि पनि निरन्तर नागरिकप्रति उत्तरदायी हुन्छ र हुनुपर्छ । नागरिकप्रतिको उत्तरदायित्व सरकारले पूरा गर्नुपर्छ ।

सरकार संविधानभन्दा कुनै निमेष पनि बाहिर जान्छु भन्न पाउँदैन । त्यसैले हामीले चुनाव जित्यौँ, पाँच वर्ष हामीले केही पनि मान्नु पर्दैन, प्रतिपक्ष पनि मान्दैनौँ, जनता पनि मान्दैनौँ, संचार पनि सुन्दैनौँ, कसैको टीकाटिप्पणी पनि सुन्दैनौँ, संवैधानिक निकायहरु पनि मान्दैनौँ, संबैधानिक अंगहरु मान्दैनौँ, अरु तहका सरकार पनि मान्दैनौँ भन्न पाइँदैन । 

लोकतन्त्रमा यी सबै चिज मानेर शासन गर्नका लागि प्रधानमन्त्री चुनिन्छ । सरकार बन्छ । अहिले बनेको असाध्यै ठूलो बहुमतको सरकारले संविधान मान्दिन भन्ने अधिकार छैन । ९९ प्रतिशतको समर्थनमा सरकार बने पनि संविधान मान्दिन भन्न पाईँदैन । बरु संविधान चित्त बुझेको छैन भने संशोधन प्रकृयामा जाँदा हुन्छ । 

उहाँहरु हामी जित्यौँ । अरु हारे । हारे पछि बोल्न पाइँदैन । जितेकाले पाँच वर्ष चलाउने हो । जे मन लागे त्यही गर्ने हो । कसैले रोक्न पाईँदैन भन्दै आएका छन्  । त्यसैमा हाम्रो असहमति हो । त्यसैमा हाम्रो विरोध हो । 

संविधान नै बलियो राजनीतिक पूँजी हो 

अहिले एउटा बलियो राजनीतिक आधार तयार छ । आम सहमतिको संविधान छ । सरकारमै भएका केही दलले संविधान संशोधन गर्ने भनेका छन् । हिजो हामीले संशोधनको प्रयत्न गरेका थियौँ । त्यो बेला तत्कालीन एमालेलाई चित्त बुझेन, असहयोग गर्यो । आज तिनै तत्कालीन एमालेका नेता सरकारको प्रमुखमा छन् ।

अहिले उहाँले पनि संशोधन गर्छु भन्नुभएको छ । सामान्य दुईचार वटा बुँदाको संशोधन बाहेक अरु कहीँ पनि असहमति छैन । 
हिजो संविधान बनाउने प्रकृया छाडेर हिँडेका मधेस केन्द्रित दल आज त्यही संविधानलाई टेक्दै सरकारमा हुनुहुन्छ । २ नम्वर प्रदेशमा उहाँहरुकै सरकार छ । देशमा एउटा मधेश केन्द्रित दल सरकारमा छ ।

हिजो संविधानसभाले संविधान बनाउन सक्दैन । यसले बनाएको संविधानको अर्थ छैन भनेर दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गरेका नेता अहिलेको सरकारको गृहमन्त्री हुनुहुन्छ । सत्ताको प्रमुख सचेतक पनि उनीहरु नै छन् । त्यसैले संविधानका बारेमा आम सहमति छ । यो नै बलियो राजनीतिक पूँजी हो । 

आज्ञाकारी प्रतिपक्ष बन्न तयार छौँ 

यति ठूलो बहुमतबाट सरकार बनेको छ । बलियो समृद्धशाली नेपाल निर्माणका लागि निर्णायक रुपमा अगाडि बढ्न सकिन्छ । यो अवसर हो । यस्तो अवसर अहिलेसम्म कसैलाई पनि प्राप्त भएको थिएन । यो सरकार त समृद्धिको यात्रातर्फ अगाडि बढ्ने हो । त्यतातर्फ हामीसँग सहयोग माग्ने हो । त्यो काम गर्नुहोस भन्ने हाम्रो चाहना हो । त्यो हुन सकेको छैन । 

कुरा चाहिँ ठूलो गर्नु भएको छ । जिस्काउनु भएको छ । होच्याउनु भएको छ । प्रतिपक्षलाई, संचार जगतलाई, न्यायालयलाई, संवैधानिक निकायलाई, आम नागरिकलाई । 

तर समृद्धिको यात्रामा यसरी अगाडि बढ्छु भनेर बलियो र ठोस रुपमा कुनै योजना ल्याउन सक्नु भएको छैन । यो चिन्ताको विषय हो । उहाँहरु त्यो बाटोमा अगाडि बढ्नुस भन्ने हाम्रो चाहना हो । 

यो अवसरलाई खेर नफालौँ । देशका लागि हो यो अवसर । कुनै व्यक्ति वा पार्टीका लागि मात्रै होइन यो अवसर । यो अवसरलाई सदुपयोग गर्न सके देशले कोल्टे फेर्नेवाला छ । राजनीतिक, आर्थिक र सामाजिक आधार प्राप्त भएको छ ।

त्यसलाई सदुपयोग गर्नुभयो भने हामी एकदमै रचनात्मक रुपमा, एउटा संसदीय व्यवस्थामा सबैभन्दा आज्ञाकारी प्रतिपक्ष बन्न तयार छौँ । हामी सरकारको होइन, सत्ताको होइन । राज्यको र नागरिकको आज्ञाकारी प्रतिपक्ष बन्न तयार छौँ । 

लोकतन्त्रका मूल्य र मान्यताहरुमाथि आक्रमण भएको हामी सहँदैनौँ र हामी जत्रोसुकै सँख्यामा भए पनि त्यसका लागि यथेष्ट छ । संविधानभन्दा बाहिर सरकार जान सक्दैन । 

आर्थिक विकासका लागि सरकारले ल्याउने एजेण्डामा हामी जुनसुकै बेला छलफल गर्न हामी तयार छौँ । जलश्रोतको क्षेत्रको विकास कसरी गर्ने, पूर्वाधार विकास कसरी गर्ने भन्ने बारेमा छलफल गर्न हामी तयार छौँ । पर्यटनको विकास, एउटा समग्र राष्ट्रको आर्थिक विकास, समृद्धिको यात्रा कसरी अघि बढ्न सक्छ त्यसमा हामी जतिबेलै पनि छलफल गर्न तयार छौँ । 

तपाईलाई हटाउन सक्ने ताकत कसैसँग छैन । यत्रो ठूलो बहुमत छ । तपाई प्रधानमन्त्री रहिरहनु हुन्छ । स्थिर सरकार छ । तर गफ होइन, काम गर्नुहोस् । 

सोचमा सर्वसत्तावाद, अधिनायकवाद छ

उहाँहरुले प्रतिपक्षले बोल्नै भएन, चुनाव हार्या छ, त्यसैले हाम्रो अगाडि लामबद्ध भएर बालुवाटारदेखि सिंहदरबारसम्म प्रतिपक्ष उभिएर जदौ गर्नुपर्छ भन्ने जस्तो ब्यवहार देखाइ रहनुभएको छ । यो भनेको लोकतन्त्र होइन ।

निर्वाचनको म्याण्डेड त्यो होइन । नागरिकको आदेश त्यो होइन । लोकतन्त्र त्यो होइन । त्यो उहाँहरुले ठान्नुभएको छ भने त्यो उहाँहरुको बुझाई गलत हो । त्यै बुझाइलाई नै हामी भन्दै आएका छौं । उहाँहरुको सोचमा सर्वसत्तावाद, अधिनायकवाद छ भन्ने कारण पनि त्यही हो । 

हामीलाई शंका छ यो सरकार त्यही बाटोमा हिँडिरहेको छ । तर हामीलाई के विश्वास पनि छ भने यस्तो बाटोमा जान दिँदैनौं, रोक्न सक्छौँ । त्यो आत्मविश्वास छ ।

विपक्षी देख्ने वित्तिकै त्योमाथि जाइ लाग्ने, प्रश्न उठाउने, आलोचना टिप्पणी गर्ने पत्रकारमाथि जाइ लाग्ने । आफूलाई भनेको भन्दा विपरित फैसला गर्न खोजेको भन्दै त्यही न्यायाधीशमाथि जाइ लाग्ने । यो ठिक होइन ।

लोकतान्त्रिक मूल्य र मान्यतालाई अक्षुण राख्ने । बलियो सत्तालाई संविधानभित्र बस्न बाध्य तुल्याउने कामका लागि नेपाली कांग्रेस दरो खरो रुपमा उत्रन्छ । त्यो प्रस्तुति भनेको हाम्रो कर्तव्य हो ।

त्यो भनेको सरकारलाई काम गर्न नदिएको भन्ने होइन । काम गर्ने ठाउँमा हामी हात समाउन गएका छैनौँ । उहाँहरु काम नै गर्नुभएको छैन । काम गर्ने सट्टा गाली गरेर बस्नु भएको छ । सरकारको काम गाली गर्ने होइन । काम गर्ने हो । काम गर्नुहोस् न ।  

संविधान कार्यान्वयन गराउने सवालमा कांग्रेस एक छ

कांग्रेस पार्टी भित्र आन्तरिक विषयमा केही मतभेद होला तर समग्र संविधान कार्यान्वयन गर्ने सवालमा हामी एकमत छौँ । 
हामी लोकतान्त्रिक पार्टी हौँ । अलि अलि विचारमा भिन्नता हुन्छ ।  महाधिवेशनसम्म पुग्दा यसपालि कडा प्रतिष्पर्धा हुन्छ । सभापति पदमै पनि एक भन्दा बढी प्रतिष्पर्धा हुन्छ । 

हाम्रो पार्टीमा स्थायी गुट हुनु हुँदैन भन्ने हो । विगत २५ वर्षदेखि एउटै गुट पनि देखिएको छ । तर अबको महाधिवेशनबाट यस्तो सबै गुट निमिट्यान्न गछौँ ।

लोकतान्त्रिक पार्टीमा इस्युमा, मुद्धामा गुट हुन सक्छ । ति विषयहरु टुगिन्छन् । त्यसपछि गुट पनि सकिन्छ । हामी त्यसै गरि अघि बढ्दैछौँ ।

हामी चुनावमा नराम्रोसँगै हारेका हौँ । हारपछि केही अन्तरकलह रह्यो । अब अन्तरकलह भन्दा पनि पार्टीको प्रतिष्पर्धामा हामी कहाँ उभिन्छौँ भन्ने कुरामा बहस परिमार्जित हुँदै गएको छ ।

नयाँ नेतृत्वले कांग्रेसको बागडोर सम्हाल्छ   

हाम्रो पार्टीको मूल नेतृत्व ७५ वर्ष भन्दा कटिसकेका छन् । अब उहाँहरुको समूहको होइन कि नयाँ पुस्ताको नेतृत्वमा जानु पर्छ । अबको महाधिवेशनले मलाई आशा छ नयाँ नेतृत्वले कांग्रेसको बागडोर सम्हाल्ने छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानका लागि हामी आभारी छौँ भनेर अब उहाँहरुलाई बिदाई दिनु पर्छ । उहाँहरुलाई अब विश्रामको समय दिनु जरुरी छ । 

प्रतिपक्ष लोकतन्त्रकै सुन्दर पक्ष

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै सधैं  सत्तामा मात्रै होइन, प्रतिपक्षमा पनि बस्नु पर्छ भन्ने हो । हामी अबको झण्डै साढे ४ वर्ष प्रतिपक्षमा रहन्छाँै । हामी रचनात्मक प्रतिपक्षीको रुपमा छौँ । त्यसै रुपमा हामी काम पनि गर्दै छौँ । 

अहिले प्रभावकारी प्रतिपक्षको रुपमा कांग्रेस बस्नुपर्छ । त्यो बाहेक हामीले अन्यथा सोचेका पनि छैनौँ । यो भनेको कांग्रेसको लागि रिनुअलको समय हो ।  

प्रतिपक्षमा बस्न पाउनु भनेको चिन्ताको विषय होइन, मैले यसलाई अवसरको रुपमा लिएको छु । 

(नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजालसँग नवराज फुयाँलले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया