यूएईबाट पहिलो चरणको स्वदेश फिर्ती सकियो, दोस्रो चरणको उडान तालिका छिट्टै सार्वजनिक गरिने

 असार १४, २०७७ आइतबार ८:२६:४१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब एमिरेट्स (यूएई)मा समस्यामा परेका नेपालीको उद्धार प्रक्रियाको पहिलो चरण सकिएको छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि बनाएको मापदण्ड अनुसार पहिलो चरणमा १८ सय ८९ जना नागरिकको उद्धार गरिएको आबुधावीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कोरोनाका कारण समस्यामा परेका नागरिकको उद्धारका लागि पहिलो चरण अन्तर्गत जुन १९ देखि २७ अर्थात हिजोसम्म विभिन्न एअरलाइन्सका ११ वटा चार्टड उडान भएका छन् । ११ उडानमार्फत १८ सय ८९ जना स्वदेश फर्किएका हुन् । दोस्रो चरणको उद्धारका लागि छिट्टै उडान तालिका सार्वजनिक गरिने दूतावासको जनाएको छ ।

समस्यामा परेका कतिपयले दूतावासमै पुगेर उद्धार गर्न आग्रह गर्दै आएका छन् । यसरी सहयोग र उद्धारका लागि दूतावासमै पुगेकालाई आवश्यक सूचना र जानकारी उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ । तर कोरोना महामारीका बेलामा श्रमिकको समस्या लगायत कुरालाई लिएर दूतावासलाई बदनाम गराउन अनर्गल प्रचार गरिएको भन्दै दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले विज्ञप्ती निकालेर सरकारको मापदण्डअनुसार उद्धारको काम गरिरहँदा पनि विभिन्न रुपमा दूतावासको बदनाम गराउन आएका भिडियो तथा समाचारप्रति दुःख व्यक्त गरेको हो ।

किन गर्‍यो दूतावासले खण्डन ?

दूतावासले केही नगरेको भन्ने केही सञ्चारमाध्यममा खबर आएपछि दूतावासमाथि चौतर्फी दबाब परेको थियो । सरकारका उच्च निकायबाट कुनै दबाब नआए पनि आफूले गरेको काम सार्वजनिक गर्नुपर्ने ठानेर दूतावासले विज्ञप्ती निकालेको दूतावास स्रोतको भनाइ छ ।

दूतावासको गेटमै आएर ‘स्क्याण्डल’ मच्चाउँदैमा वा मिडियामा आँसु बेचेर समस्या समाधान नहुने र अहिले महामारीको समयमा दूतावासले श्रमिकको समस्या समाधानमा हरसम्भव प्रयास गरेको दूतावासको भनाइ छ । 

पछिल्ला दिनमा आबुधावीमा रहेको नेपाली दूतावासको गेटमा आएर भिडियो बनाउने, दूतावासलाई गालीगलौज गर्ने क्रम बढेको छ । दूतावासका स्थानीय कर्मचारीसँग भनाभन हुने, जबर्जस्ती भित्र प्रवेश गर्न खोज्ने र अरु कसैले भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने र भाइरल गराउने गरेको दूतावासको ठहर छ । 

दुई हप्ता पहिले दूतावासको गेटमा स्थानीय प्रहरी आएको, अर्को हप्ता कर्मचारीले उद्धार गर्ने विषयमा बोलेको भिडियो तथा तीन दिन पहिले दूतावासका सेक्युरिटी गार्डको खुट्टा समाए जस्तो गरेर गेटमै बसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । ती सबै भिडियोमा रामपुर १२ कलैया बाराका शिव बच्चन साह रौनियार देखिन्छन् भने भिडियो खिच्ने त्यही ठाउँकै अजय महतो हुन् ।

उनीहरु दुवै जनालाई स्प्रिङ्ग नेपाल ह्युमन रिसोर्सले गएको मार्चको ९ तारिक मेसनको काम भन्दै यूएई ल्याएको हो । तर नेपालमा गरेको सम्झौता अनुरुप यहाँ काम नपाएपछि पहिलो दिन दुई घण्टा काम गरेर दुबै जनाले काम छोडेका थिए । 

म्यानपावरका यूएई एजेण्ट हरि बिष्टले बाटोमा अलपत्र छोडेर हिँडेपछि उनीहरु समस्यामा परेका थिए । बस्ने र खाने टुङ्गो नभएको भन्दै उनीहरु शनिबारको दिन दूतावासको गेटमा पुगेका थिए । कार्यालय बन्द भएकाले दूतावासका स्थानीय कर्मचारीले समस्याबारे लेखेर राखेको र बस्ने कोठासम्म जाने भाडासमेत दिएका थिए ।

तर पीडितहरु दूतावासको गेटमा दैनिकजसो पुगिरहेका थिए । गेटमा आउने, ढोका बजाउने, गेट खुले भित्र छिर्ने प्रयास गर्ने नखुले भित्रबाट बोलेको आवाजसहित भिडियो बनाउने र समाजिक सञ्जालमा भाइरल बनाउने गरेका थिए।

उनीहरुले रुँदै बोलेको भिडियो सार्वजनिक भएकै दिन उनीहरुको उडानका लागि दूतावास आफै‌ंले आफ्नै गाडीमा राखेर विमानस्थलसम्म पुर्‍याएको थियो । तर अध्यागमनको प्रकृया पूरा नभएकोले शुक्रबार उनीहरु नेपाल फर्कन पाएनन् । अहिले नेपाली समुदायको सहयोगमा उनीहरुलाई नेपाल नफर्किंदासम्म दुबईमा खाने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया