धेरै पानी परेसँगै भोजपुरमा रुद्राक्षको फूल झर्न थाल्यो

 साउन ३०, २०७७ शुक्रबार १९:१५:५४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – रुद्राक्ष व्यवसाय भाेजपुरकाे आम्दानीको मुख्य स्रोत हाे । यस वर्ष अत्यधिक वर्षाका कारण फल लाग्न नपाउँदै फूल झर्न थाले पछि कृषकहरु चिन्तित बनेका छन् ।  

पछिल्लो समय भाेजपुरकाे अर्थतन्त्रमा टेवा दिइरहेको रुद्राक्षको उत्पादन यस वर्ष भने खस्किने देखिएकाे छ । अत्यधिक वर्षाका कारण फल नलाग्दै फूलमै कुहिन थालेपछि कृषकहरु चिन्तित बनेका हुन् । 

छिमेकी देश चीन, भारतलगायतका अरु देशमा निर्यात हुने रुद्राक्ष बजारको मागअनुरुप बनाउन कृषकहरुले लाखौँ खर्च गरेर विषादीको प्रयोग गरे तर बाेटमै फूल नअडिएको षडानन्द नगरपालिकाका कृषक केवल साही बताउनुहुन्छ । साहीले भन्नुभयो, ‘गत साल जस्तो दानाको फूल अडिएन यो पटक, मैलै दाना राम्रो हुन्छ भनेर औषधीसम्म लगाएको थिएँ ।’ 

भारत र चीन मुख्य बजार रहेको रुद्राक्ष व्यवसायलाई कोरोना भाइरसले प्रत्यक्ष प्रभाव पारेको छ । कोरोनाको महामारीका कारण बाह्य देशबाट व्यापारी आउन सहज नभएपछि लगानी पनि नउठ्ने कृषक विष्णु बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पानी परेका कारण पनि रुद्राक्षको फूल अडिएन, अब हामीले जति आश गरेका थियाैँ, त्यो सपनामात्र होला जस्तो भयो ।’

पछिल्लो समय रुद्राक्षमा फूल खेल्ने क्रममा विषादी लगाउनु पनि मुख्य समस्या बनेको छ । रुद्राक्षको फूल राम्रो छ तर बढी पानी र विषादीको कारण पनि फूल झरेको हुन सक्ने रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष उत्तम कट्वालले बताउनुभयो । उहाँले भन्नुभयो, 'कोरोना भाइरसका कारण बाह्य देशका व्यापारी बगानसम्म आउन गाह्रो भए पनि फल नअडिएपछि उत्पादनसमेत कम हुने र मागअनुरुप उत्पादन नहुने देखिएपछि मूल्य बढ्न सक्ने अवस्था छ ।’

फल लाग्ने समयमा फूलमै कुहिएर झर्नु वर्षाकाे कारणमात्र नभएर रुद्राक्षको गुणस्तर वृद्धि गर्न भन्दै मापदण्ड विपरीतका विभिन्न खालका विषादी प्रयोगका कारण पनि फूल नअडिएको हुन सक्ने विज्ञहरु बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया