रासायनिक मलमा कालोबजारी : तोकिएको भन्दा तेब्बर मूल्यमा बिक्री

 भदौ १८, २०७७ बिहिबार १८:४:४४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरको पूर्वी अरुण गाउँपालिकामा रासायनिक मलमा कालोबजारी भेटिएको छ । तोकिएको मूल्यभन्दा चारगुणा बढी मूल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गरेको पाइएको हो । 

प्रतिबोरा ७ सय ८५ रुपैयाँ पर्ने रासायनिक मल स्थानीय व्यापारी अर्जुन कटुवालले प्रतिबोरा २ हजार ५ सयमा किसानलाई बेचेको पाइएको हो ।

मनपरी मूल्य तोकेर गाउँमा मलको कालोबजारी गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको छ । व्यापारी कटुवाल भने सम्पर्कविहीन रहेको प्रहरी बताएको छ ।

कोरोनो महामारीका बेला खाद्यान्न र मालबाहकका सवारी साधानलाई जिल्ला प्रवेश गराउने जिल्ला सङ्कट व्यवस्थापन समितिको निर्णय भए पनि समितिको निर्णयलाई उल्लङ्घन गर्दै मोरङको सलकपुरबाट व्यापारी कटुवालले रातारात मल ल्याई चारगुणा बढी मूल्यमा किसानलाई मल विक्री गरेको खुलेको हो ।

गएको बुधबार राति व्यापारी कटुवालले अनाधिकृत रुपमा ‘उत्तम ब्राण्ड’ को ४० बोरा युरिया मल अरुण गाउँपालिका ५, याकुको ओदानेमा मिनीट्रकबाट झार्ने क्रममा गाउँका केही युवाहरुले देखेपछि व्यापारी कटुवालले गाडी चरम्बीको छाम्ताङ पठाए । गाउँमा अनधिकृत मल विक्री हुँदैछ भन्ने सूचना आएपछि प्रहरी चौकी प्याउलीबाट गएको प्रहरी टोलीले  मलको बोरा रहेको को १ ख ३४६६ नम्बरको मिनीट्रक नियन्त्रणमा लिएको थियो ।

मल ल्याएर आउने क्रममा धनकुटाको लेगुवा र भोजपुरको जरायोटार प्रहरी चेक पोष्टमा प्रहरीले सोधपुछ गर्दा ‘गाडीमा कुखुराको चारो छ’ भनी झुक्याएर गाडी प्रवेश गराएका थिए । तर ओदानेमा गाडी रोकिएपछि चालकलाई स्थानीयले सोधपुछ गर्दा याकुका व्यापारी अर्जुन कटुवालले मल ल्याएको बताएका थिए । ल्याइएको मलको कुनै पनि रसिद नहुँदा कहाँबाट कति मूल्यमा मल ल्याएको भन्ने खुलेको छैन ।

मल ल्याइएको मिनीट्रकमा जुत्ता, चप्पल, रंग लगायत हार्डवेयरका सामग्रीमा ४० बोरा मल लुकाएर ल्याइएको थियो । यसअघि पनि कटुवालले मल विक्री गर्दा वास्तविक मूल्यभन्दा तेब्बर बढी मूल्यमा बेचेको खुलेको छ । स्थानीय खुद्रा व्यापारीसमेत रहेका कटुवालले कोरोनाको बन्दाबन्दीमा पनि गाउँमा मनपरी मूल्यमा मल बेच्दै आएका थिए । गाउँमा मलको हाहाकार भएपछि कटुवालले तोकेकै मूल्यमा किसानले मल किन्न बाध्य भएको स्थानीय नवराज फुँयाल बताउनुहुन्छ ।

बुधबार प्रहरीले नियन्त्रणमा लिएको ४० बोरा अनधिकृत मलको अनुसन्धानको लागि चालकसहित जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइएको प्रहरीले जनाएको छ । मल कसले कसरी ल्याएको हो भन्ने अनुसन्धान भइरहेको प्रहरी निरिक्षक प्रदीप लामाले बताउनुभयो ।  

गाउँपालिकाका लागि कृषि रासायनिक मल खरिद गर्न एचपी सप्लायर्सलाई ठेक्का दिइएको छ । सप्लायर्सले पारेको ठेक्का अनुसार प्रतिकिलो ५० रुपैयाँका दरले १ हजार ३ सय ९५ बोरा डीएपी र २ हजार ६ सय ५ बोरा युरिया मल किसानलाई वितरण गर्नुपर्ने प्रावधान छ । सप्लार्यसले कृषकलाई कोरोना महामारीका कारण मल दिन नसकेको बताएको छ ।

यदि कसैले बढी मूल्य लिएर मल बिक्री गरेको पाइए कारवाहीको दायरामा ल्याउने अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया