विश्व आत्महत्या रोकथाम दिवस : समस्यालाई बाँड्न सके तनाव कम गर्न सकिने

 भदौ २५, २०७७ बिहिबार ८:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।

नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको चैत्र १० गतेदेखि साउनसम्म झण्डै २ हजार २ सय १८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको यो बेला औसत दैनिक १९ जनाले आत्महत्या गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाले निम्त्याएको आर्थिक, सामाजिक, पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर आत्महत्या हुने गरेको र त्यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । यो वर्ष कोरोना महामारीका कारण उत्पन्न समस्याले विगतको तुलनामा मनो-सामाजिक समस्या र आत्महत्याको दर बढेको छ । लकडाउन, निषेधाज्ञा तथा घरभित्रै बस्नुपरेका कारण गरिखाने वर्गमा बढी असर देखिएको छ ।

समस्यालाई बाँड्न सके तनाव कम हुने विज्ञले बताएका छन् । साथै मनमा कुरा नखेलाउन, सकारात्मक कुराहरु सोच्न र नियमित व्यायाम गर्न विज्ञको सुझाव छ । आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको समेत पाइएको छ । 

त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनो-चिकित्सकसँग परामर्श गराए ज्यान जोगाउन सकिने मनो-चिकित्सक डाक्टर सरोजप्रसाद ओझाले बताउनुभयो । उहाँले कोभिड-१९ मा आत्महत्या बढेकाले सबै मिलेर जनचेतना फैलाएर त्यसलाई कम गर्नुपर्नेमा जोड दिनुभएको छ । कोरोनाका बेलामा भिटामिन सी खाने, भिटामिन डी प्राप्त गर्ने तथा सागपात, फलफूलजस्ता सन्तुलित खानेकुरा र दैनिक योग र व्यायाम गर्न पनि उहाँको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया