कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डाै आइपुग्ने

 माघ ८, २०७७ बिहिबार ८:१८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डाै आइपुग्दै छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ ।  

एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले खोप हस्तान्तरण गर्नु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेका  प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीनवटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।

एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढीमा खोप पुर्याउने छ भने अर्काेले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले पोखरामा खोप पुर्याउने छ । सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ​।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डाक्टर श्यामराज उप्रेतीकाअनुसार भारतबाट अनुदानमा ल्याइने खोप हरेक व्यक्तिलाई दुई मात्रा दिइन्छ । खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया