नयाँ वर्ष यस्तो होस्, सबैको जय होस्

 बैशाख १, २०७८ बुधबार ९:४२:४ | दामोदर न्याैपाने
unn.prixa.net

कविता

नयाँ वर्ष यस्तो होस्
जसले जस्तो चाहन्छ त्यस्तै होस् 
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।

आँसु खसाल्न र दुःख सहन नपरोस्
मात्र फलोस्, फुलोस् अनि पुगोस्
कोरोनाले मान्छेलाई मन नपराओस्
जताबाट आएको हो त्यतै गएर समाप्त होस्
हाँसौँ खेलौँ दौडिऔँ अनि बाँचौँ
भुलेर चिन्ता सबै एकैसाथ नाचौँ 
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।

हत्या, बलात्कार र भ्रष्टाचारजस्ता शब्द कानमै नपरोस्
मिठो मसिनो खान पाए पुग्छ धुलो, धुँवा चाहिँ खानै नपरोस्
रोगले मर्नुपर्ने ठाउँमा डाक्टरसँगै दवाई पुगोस्
भोकै पर्नुपर्ने ठाउँमा दालसँगै चामल पुगोस्
कमी वा पुगेन होइन सबै छ भन्न पाइयोस्
कोही नटाढिऊन् के छ भन्न पाइयोस् 
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।

फोहर झैँ गन्हाउने राजनीति ७७ सालमै छोडियोस्
रिस, राग र कुबुद्धि पनि उतै छोडियोस्
७८ मा एक अर्कामा माया प्रेम अझै मौलाओस्
हर कोहीले देशको गरिमा अझ बढाओस्
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।

हाम्रा छोरीहरू ढुक्कसँग हिँड्न सकून्
कोही पनि कसैको कुदृष्टिमा नपरून्
छोराछोरी बराबरी 
यो भनाइलाई व्यवहारमा लागू गर्न सकियोस्
७८ साल सबैका लागि वरदान बनिदेओस्
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया