चीनबाट अक्सिजन सिलिन्डर ल्याउनै समस्या, वाइडबडीले एउटा उडानमा चार सय सिलिन्डर मात्रै बोक्ने

 बैशाख २४, २०७८ शुक्रबार ९:५०:२७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - चीनले नेपाललाई सहयोग स्वरुप दिने अक्सिजन सिलिन्डर नेपाल ल्याउन समस्या देखिएको छ  ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भनेकोमा पहिलो चरणमा तीन हजार पाँच सय थान सिलिन्डर दिने पक्का भइसकेको छ । तर यी सिलिन्डर नेपालमा ल्याउन समस्या भएको छ ।

विशेषगरी सिलिन्डर ओसार्न ठूला र धेरै तौल भएका सामान ओसार्ने कार्गो जहाजको आवश्यकता पर्ने भएकाले ढुवानीमा समस्या देखिएको हो । नेपालकै जहाज पठाएर खेप/खेपमा सिलिन्डर ल्याउने या चीनकै कार्गो जहाजलाई भाडा तिरेर एकै पटकमा अलि धेरै सिलिन्डर ल्याउने भन्ने विषय टुङ्गो लागेको छैन । 

यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कुरा गर्दा सिलिन्डर बोक्ने जहाजको विषयमा स्वास्थ्य र पर्यटन मन्त्रालयले निर्णय गर्ने जानकारी दिनुभयो । 

‘हामीले सिलिन्डर सहयोगको विषय टुङ्ग्याउने हो, जहाजको विषयमा स्वास्थ्य मन्त्रालयले पर्यटन मन्त्रालयसँग समन्वय गरेर कुरा मिलाउँछ, उहाँहरुले तयारी गर्दै हुनुहुन्छ होला, सायद याे हप्ताभित्र अक्सिजन सिलिन्डर आइपुग्ला’ मन्त्री ज्ञवालीले उज्यालोसँग भन्नुभयो । तर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सिलिन्डर ल्याउने सबै चाँजोपाँजो मिलाउने मन्त्रालय परराष्ट्र मन्त्रालय नै भएको जानकारी दिनुभयो । 

‘यो विषयमा मलाई भन्दा धेरै परराष्ट्र मन्त्रालयलाई नै थाहा छ, हामीले यहाँको अवस्था बताइसकेका छौँ,  स्वास्थ्यले जहाजको विषयमा कुरा गर्दैन, यो परराष्ट्र या पर्यटन मन्त्रालयले नै गर्ने कुरा हो’ मन्त्री त्रिपाठीले भन्नुभयो ।

 नेपाली जहाज भन्दा चिनियाँ कार्गो जहाजबाट सिलिन्डर ल्याउँदा सस्तो पर्ने भएकाले उतैबाट जहाज ल्याउने विषयमा कुरा भइरहेको सङ्केत आफूले पाएको स्वास्थ्यमन्त्री त्रिपाठीको भनाइ छ । 

यसै विषयमा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग कुरा गर्दा उहाँले आफू कोरोना सङ्क्रमण भएर आराम गरिरहेकाले जानकार नभएको प्रतिक्रिया दिनुभयो । 

वाइडबडी चीन जाने सम्भावना, एकपटकमा चार सय सिलिन्डर मात्रै ल्याउन सक्ने

तत्कालका लागि चार सय थान अक्सिजन सिलिन्डर ल्याउन नेपाल एअरलाइन्सको जहाज चीन पठाउने तयारी सुरु भएको छ ।

अत्यावश्यक भइसकेकाले सुरुको चरणमा सिलिन्डर ल्याउन वाइडबडी जहाज चीन पठाउने विषयमा अर्थ मन्त्रालयले नेपाल वायुसेवा निगमसँग दररेटको प्रस्ताव मागेको छ । मन्त्रालयको आग्रह अनुसार आफूहरुले वाइडबडीको दररेट बुझाएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । 

‘हामीले दररेट बुझाएका छौँ, मन्त्रालयले जवाफ दिएपछि हामीले तयारी गर्छौँ ’ पौडेलले भन्नुभयो । वाइडबडीले एक पटकमा जम्मा चार सय सिलिन्डर बोक्न सक्छ । अक्सिजन सिलिन्डरले धेरै ठाउँ नओगट्ने तर गह्रौँ हुनेभएकाले कार्गो जहाज र नेपाल एअरलाइन्सको वाइडबडीमा ल्याउनुमा खासै फरक नहुने पौडेलको भनाइ छ। 

‘एउटा खाली सिलिन्डर नै ७० किलो हुँदो रहेछ, त्यसैले एकपटकमा चार सय सिलिन्डर मात्रै ल्याउन सकिने रहेछ, कार्गो जहाजमा ल्याउनु र हाम्रोमा ल्याउनु खासै फरक छैन, सरकारले जिम्मेवारी दिएमा ल्याउन तयार छौँ ’ पौडेलले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया