सप्तरीमा ठगिए दर्जनौँ युवा : रकम फिर्ता लिन धाउँदै पीडित, एजेण्ट फरार

 भदौ १, २०७८ मंगलबार १४:३७:१९ | शुभनारायण यादव
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा एजेण्टबाट ठगीमा परेका सप्तरीका युवाले न्यायका लागि अपिल गरेका छन् । 

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर २ बस्ने एजेण्ट अशोक कुमार यादवले मोटो रकम लिएर विदेश पठाएको भए पनि यहाँ भनेजस्तो काम नहुँदा अलपत्र पारेको भन्दै ठगीमा परेका युवाहरूले न्यायका लागि अपिल गरेका हुन्।

राम्रो कम्पनी र काम लगाइदिने प्रलोभन देखाएर भने अनुसारको काम नदिएको ठगीमा परेका राजविराजका युवा सञ्जय दासले बताउनुभयो । एक महिनासम्म दुबईमा काम नपाएर अलपत्र परेर जसोतसो घर फर्किएको सञ्जयले बताउनुभयो । घर फर्किएको एक वर्ष बित्दा पनि एजेण्टले आफूहरूबाट लिएको रकम फिर्ता नदिएको र कसैले पनि आफ्नो समस्या नसुनेको उहाँको गुनासो छ ।

सञ्जयसँगै वैदेशिक रोजगारीको लागि दुबई गएका धिरेन्द्र कुमार दासले घरमा आएर विदेश पठाउन लिएको पैसा माग्दा एजेण्ट यादवले आजभोलि भन्दै झुक्याउने गरेको जानकारी दिनुभयो । 

उहाँले न्यायका लागि प्रहरी समक्ष उजुरी दिँदा समेत आफ्नो पैसा नपाएको गुनासो गर्नुभयो । 

आकर्षक तलब र रोजगारी दिन प्रलोभन देखाई लाखौँ ठगी गर्ने एजेन्टबाट फिर्ताका लागि युवाहरूले अपिल गरेका छन् । एजेण्ट यादवले दासलाई दुबईको नुन फुड कम्पनीमा आकर्षक तलबसहित प्याकिङको काममा लगाई दिने भन्दै २ लाख ४३ हजार ६ सय रुपैयाँ, सप्तरीको बिष्णुपुर गाउँपालिकाका बेदानन्द यादवबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्र दाससँग १ लाख ४६ हजार रुपैयाँ लिएको पीडितहरूको दाबी छ ।

दुबई पुगेपछि एजेण्टले भने अनुसारको काम नभएको र एक महिनासम्म कष्टपूर्ण जीवन बिताएर घर फर्किएको पीडितहरू बताउँछन् । 

घर फर्किएपछि एजेण्ट विरुद्ध २०७५ पुस २५ गते उनीहरूले प्रहरीमा उजुरी दिएका छन् । उजुरी पछि प्रहरीले एजेण्टलाई पक्राउ गरी एक नियन्त्रणमा राखी छोडिदिएको पनि पीडितले बताएका छन् ।

प्रहरी हिरासतमा रहेका एजेण्ट यादवले पीडितहरूले भने जति रकम लिएको स्विकार्दै एक महिना भित्र रकम फिर्ता गर्ने कागजसमेत गरेका  थिए । यही सर्त र कागज गरिदिएपछि थुनामुक्त भएका अशोक अहिले फरार भएका छन् ।  

फरार रहेका एजेण्ट अशोकको खोजतलास भइरहेको प्रहरीले पीडितलाई बताएको छ । 

यता जिल्ला प्रशासन कार्यालयस्थित सुरक्षित आप्रवासन परियोजनाद्धारा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा समेत लिखित जानकारी गराएको र केन्द्रले पनि आवश्यक समन्वय गरिरहेको जनाएको छ । 

एजेण्ट अशोक यादवलाई जिल्लाबाट पक्राउ पुर्जी जारी भइसकेको र  फरार रहेका उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रुपनीका सई अवधेश चौवेले जानकारी दिनुभयो । 

सप्तरीकै शम्भुनाथ नगरपालिका ६ बस्ने एजेण्ट छुतहरू मियाले पनि १२ जनासँग जनही २ लाखका दरले रकम उठाएर ठगी गरेको पीडितले बताएका छन् । 

दुबईमा राम्रो काम लगाइदिने भन्दै  रकम असुलेका एजेण्टले १२ जनालाई नै भिजिट भिसामा यूएई पठाएर बिचल्ली बनाएका हुन् । 

शम्भु नाथ नगरपालिकाका हरे कृष्ण साह, मखबुल राईन, सिवराज चौधरी, इन्द्र नारायण चौधरी, दीपक चौधरी, सुरेश खग र पशुराम सदासहित १२ जनालाई नै एजेण्टले भिजिट भिसामा यूएई पठाएका हुन् । 

भिजिट भिसामा गएका उनीहरू यूएईम अलपत्र परेर अनेक सास्ती झेलेर स्वदेश फर्किएका छन् । 

उनीहरू यूएईमा अलपत्र परेपछि आप्रवासी स्रोत केन्द्र सप्तरीले पहल गरेको थियो । अहिले उनीहरूको रकम फिर्तीका लागि पनि केन्द्रले आवश्यक सहजीकरण गरिरहेको केन्द्रका निता चौधरीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया