‘प्रहरीले हतकडी लगाएर विमानस्थल लग्यो, कम्पनीले पासपोर्ट ल्याइदियो, तलब दिएन’

 भदौ १७, २०७८ बिहिबार १५:१९:४७ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

गोपाल परियार, कास्की ।

जान त म पनि कमाएर आउला भन्ने सपना बोकेर परदेश गएको थिएँ । तर सपनाहरु कहिलेकाहीँ सोचेभन्दा पनि कहालीलाग्दो खाडलमा डुब्दा रहेछन् । 

जुन हर कोही परदेशीले कल्पना गरेकै हुँदैन ।

नेपालबाट कतार जाने बेलामा मलाई इलेक्ट्रिसियनको काममा भनेर पठाइएको हो । तर कतार पुगेपछि ठिक उल्टो काम गर्नुपर्‍यो । मलाई कतारमा हेल्परको काम गर्न लगाइयो । काम गर्नकै लागि भनेर अर्काको देशमा पुगिसकेपछि काम गर्दिन भन्ने त कुरै भएन । पाइप फिटिङको काम लगाइयो । कम्पनीले जे काम लगायो गरेँ । 

कम्पनीले काम गरे बापतको तलब दिन भने सुरुवाती दिनदेखि नै गडबडी गर्‍यो । दुई महिना काम गरेपछि मात्र तलब दियो । दुई महिनाको तलब सधैँ होल्ड गरेर राख्यो । 

कम्पनीको नियम नै त्यस्तो होला भन्ने भयो । केही भनिएन । भनेको भए पनि हाम्रो कुरा सुन्ने वाला कोही पनि थिएन त्यहाँ ।

जसोतसो काम गरियो । दुई वर्षको करार अवधि सकिन लागेको थियो । कोरोना महामारीले कतारमा पनि विभिन्न नियमहरू लागू थियो । 

एक दिन कम्पनीले तलब हालिदिएको खबर आयो । तलब लिनका लागि बाहिर बैङ्कमा जानु पथ्र्यों ।

मसहित एउटै कम्पनीमा काम गर्ने एक दुई जना थप साथीहरू बैङ्क गयौँ । पैसा निकालेर फर्कँदै थियौँ । प्रहरीले रोक्यो । अकामा माग्यो । दियौँ । किन यस्तो कोरोनाको बेलामा बाहिर हिँडेको भनेर गाली गर्‍यो । हामीले तलब निकाल्नका लागि बैङ्क गएर आएको भनेर आफ्नो कुरा राख्यौँ । 

प्रहरीले त्यसो भए पीसीआर परीक्षण गर्न हिँड् भन्यो । गाडीमा हाल्यो । एउटा बगरमा लग्यो । त्यहाँ त थुप्रै मानिसलाई जम्मा गरेर राखेको रहेछ । 

के को पीसीआर जाँच गर्न हुन्थ्यो । हामीलाई त सनैया  २ नम्बर जेलमा लग्यो ।

सात दिनसम्म त्यही हिरासतमा राख्यो । न कतै फोन गर्न दिन्छ न, कम्पनीको मान्छे कोही आउँछन् । सात दिनको दिनमा हातमा हतकडी लगाएर हाम्रो लेबर क्याम्पमा लग्यो । हतकडी लगाएको हातले के सामान ल्याउन पाउनु र । एक जोर लुगा चाहिँ लगाएँ ।

अनि त्यहाँबाट हतकडी नखोली सिधै एयरपोर्टमा लगेर प्रहरीले छाडिदियो । कम्पनीको मान्छेले त्यही हामीलाई पासपोर्ट ल्याइदियो । 

पासपोर्ट ल्याइदिए पनि हाम्रो तलब ल्याइदिएन । दुई महिना १५ दिनको बाँकी तलब, ओभर टाइमको रकम र दुई वर्ष काम गर्दाको सेवा सुविधा सबै छाडेर आउन पर्‍यो । जहाज चढ्ने बेलामा मात्रै हतकडी खुल्यो । 

नेपाल आएपछि बाँकी तलब पाउँ भन्दै हामी नेपालमा रहेको कतारी दूतावासमा पनि गयौँ । तर दूतावासले यहाँ हैन परराष्ट्र मन्त्रालयमा जानुहोस् भन्यो । त्यहाँ पनि गयौँ । उहाँहरूले जिल्ला प्रशासन कार्यालयमा पैसा आउँछ भन्नुभयो ।

जिल्लामा जाँदा अहिले रकम आएको छैन आयो भने खबर गर्छौँ भनेर सम्पर्क नम्बर र पासपोर्ट नम्बर छाडेर आयौँ । पैसा आउँछ त भनिएको छ । तर कहिले आउँछ थाहा छैन । आजको दिनसम्म हतकडी नै लगाएर देश किन पठाइयो भनेर पनि मैले बुझेको छैन । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया