नवलपरासी : कर्मचारीलाई कोरोना पुष्टि भएपछि मध्यबिन्दु जिल्ला अस्पतालको सेवा बन्द

 माघ ५, २०७८ बुधबार २०:२:३४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालकाे सेवा बन्द भएको छ । अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका सेवा बन्द गरिएको मध्यबिन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । 

अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै माघ ६ गतेदेखि माघ १० गतेसम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसुति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशाला बाहेक सबै सेवा बन्द गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । 

‘अस्पतालमा यसै पनि कर्मचारी अभाव थियो, त्यसमाथि केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि हुँदा सबै सेवा दिन सक्ने अवस्था नै भएन’ सूचना अधिकारी सुवेदीले भन्नुभयो ‘यस कारण केही दिन आकस्मिक बाहेकका सेवा बन्द गरेका हौँ।’  जिल्ला अस्पतालमा कार्यरत २३ जना कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । आज मात्रै अस्पतालका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

जिल्ला अस्पतालमा रहेको पीसीआर ल्याबका कर्मचारीमा कोभिड देखिएपछि गएकाे आइतवारदेखि रोकिएको परीक्षण अझै सुरु हुन सकेको छैन । बिहीवार गण्डकी प्रदेशले दुई जना कर्मचारी पठाउने जानकारी गराएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

‘बिहीवार कर्मचारी आए शुक्रवारबाट पीसीआर परीक्षण सुरु गर्न सक्छौँ’ सुवेदीले भन्नुभयो – ‘यसबाहेक अन्य सेवा दिनका लागि थप कर्मचारी माग गरेका छौँ , चार/पाँच दिनभित्र व्यवस्थापन हुन सक्ला भनेर पाँच दिन अस्पतालका सेवा बन्द गरेका छौँ ।’ जिल्ला अस्पतालका सेवा बन्द हुने भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया