पुल भत्किएकाे सात महिना बित्याे, अझै मर्मत भएन

 माघ २१, २०७८ शुक्रबार १९:३३:४७ | दयाराम आचार्य
unn.prixa.net

नवलपुरको कावासोती नगरपालिका ४ र ५ जोड्ने केरुङे खोलामा निर्माण भएको पुल

नवलपरासी – बाढीका कारण पुलमा क्षति पुगेको सात महिना बित्दासमेत अझै  मर्मतको काम हुन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिका ४ र ५ जोड्ने केरुङे खोलामा निर्माण भएको पुल बाढीले क्षति पुर्‍याएकाे सात महिना बितेको छ । तर पुल मर्मतमा निर्माण कम्पनी, सडक डिभिजन कार्यालय कसैले चासो देखाएका छैनन् । 

पुलको उत्तरतर्फको भागमा गएको असार महिनामा आएको बाढीले क्षति पुर्‍याएकाे छ । पुल भत्किँदा गाडी आउजाउमा समस्या भएको छ । पुल भत्किँदा दुईतर्फी गाडी चल्न समस्या भएको हो । भत्किएको पुलले दुर्घटनाको जोखिम रहेको स्थानीयवासी नारायण लोहनीले बताउनुभयो । 

रायमाझी कन्स्ट्रक्नशले पुल निर्माण गरेको हो । पुल निर्माण गरेर असार महिनामै हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपछि आएको बाढीले पुलमा क्षति पुगेको हो । पुलको ‘विङ वाल’ (पुलको संरचना जोगाउन बनाइका दायाँ–बाँयाको पर्खाल) मा पूरै क्षति पुगेको छ । सात महिनासम्म मर्मत नहुँदा एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्काेतिर कुनै पनि समय आउने बाढीले पुलमा पूरै क्षति पुग्ने र आउजाउमा समस्या हुन सक्ने स्थानीयवासी लोहोनीले चिन्ता व्यक्त गर्नुभयो । पुल मर्मतका लागि माग गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो ।

पुल निर्माणको काम गरेको रायमाझी कन्ट्रक्नशलाई आफूहरूले मर्मतका लागि ताकेता गरेको सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख जयलाल मरासिनीले बताउनुभयो । निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले गर्नुपर्ने सम्झौतामा उल्लेख भएअनुसार मर्मतका लागि आफूहरूले ताकेता गरिरहेको उहाँले बताउनुभयो । ‘हामीले समयमै पत्र लेखी निर्माण कम्पनीलाई मर्मतका लागि भनेका छौँ, उसैको काम हो मर्मत गर्ने’ डिभिजन प्रमुख मरासिनीले भन्नुभयो, ‘यदि मर्मत गरेन भने धरौटी रकम छ, त्यही रकमबाट भए पनि हामी आफैँ मर्मत गर्छाैँ ।’

अहिले यो पुल सडक डिभिजन कार्यालय भरतपुरमार्फत हेरिएको उहाँले बताउनुभयो । ‘सडक डिभिजन कार्यालय बुटवलमार्फत काम भएको भए पनि अहिले भरतपुरबाट हेर्ने जिम्मा छ, पटक–पटक निर्माण कम्पनीलाई मर्मतका लागि भरतपुरबाट समेत ताकेता भएको छ’,  डिभिजन प्रमुख मरासिनीले भन्नुभयो, ‘बनाउँछु भन्ने तर काम नगर्दा समस्या भएको छ ।’

पुल निर्माणको काम हेर्दै आउनुभएका सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर विष्णु खनालका अनुसार निर्माण व्यवसायीले पुलको इन्स्याेरेन्सको विषयले केही ढिलाइ हुन पुगेको बताएको छ । इन्स्याेरेन्समार्फत क्षतिको दाबी गरी पुल मर्मत गर्ने व्यवसायीले बताउने गरेको उहाँले सुनाउनुभयाे । साथै अहिले आर्थिक सङ्कट रहेकाले अर्को क्षेत्रमा पुलको काम गरिरहेको र त्याे सम्पन्न भएपछि आफूले मर्मत गर्ने बताउने गरेको इन्जिनियर खनालले बताउनुभयो । भरतपुरबाट समेत मर्मतका लागि निर्माण व्यवसायीलाई मौखिक तथा लिखत रूपमा भनिराखिएको उहाँले बताउनुभयो । यो पुल सात कराेड ७० लाख ३६ हजार चार सय ५० रुपैयाँको लागतमा निर्माण भएको हो । 

केरुङेमा नै निर्माण भएको कालिका मावि नजिक रहेको कावासोती ४ र ५ जोड्ने पुलमा समेत क्षति पुगेको छ । पलुको दुवैतर्फको ग्याभिन भत्किएको छ । गएको असारमा पुलको दुवैतर्फ क्षति पुगेको भए पनि मर्मत हुन नसकेको कावासोती नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद बास्तोलाले बताउनुभयो । लामो समय मर्मतको काम नहुँदा पुल भएर यात्रा गर्दा जोखिम कायम रहेको छ । साथै मर्मत नगरे अब आउने बाढीले पुलमा थप क्षति पुग्ने उहाँले बताउनुभयो । पुल मर्मतका लागि आफूहरूले सम्बन्धित निकायमा भनेको भए पनि कुनै चासो नदिएको वडाध्यक्ष बास्तोलाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया