नेपालमै प्रतिस्पर्धी शिक्षा विकास गर्न हामीले इँटा राखिसकेका छौँ : अध्यक्ष ओली

 फागुन २३, २०७८ सोमबार १६:३४:४५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकाे प्रतिस्पर्धी शिक्षा नेपालमै विकास गर्न सकिने बताउनुभएको छ ।

नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी हाम्रै देशमा दुनियाँको प्रतिस्पर्धी शिक्षा विकास गर्न सक्छौँ । जसका लागि हामीले इँटा राखिसकेका छौँ । शिलान्यास गरिसकेका छौँ ।’ 

उहाँले देश विकास कसरी गर्ने भन्ने बाटो लिइसकेको जिकिर गर्दै भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, विद्युतीकण जस्ता जुनसुकै क्षेत्रको विकास गर्ने बाटो हामीले लिइसकेका छौँ । हामीसँग देश विकासको भिजन छ, त्यसै कारण हाम्रो राष्ट्रिय आकाङ्क्षा भनेको सुखी नेपाली समृद्ध नेपाल हो । ’

यस्तै पूर्वप्रधानमन्त्री ओलीले  शिक्षक, विद्यार्थी, अभिभावकलगायत सबै क्षेत्रमा काम गर्नेलाई आधुनिकीकरणको बाटो अपनाउन आग्रह गर्नुभयो । हरेक क्षेत्रमा काम गर्नेहरूले अब आधुनिकीकरणको बाटो, प्रविधि प्रयोग गर्ने बाटो, पछौटेपनलाई हटाउने बाटो, स्वरोजगार सृजना गर्ने बाटो अवलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा भएका विकासका बारेमा समेत जानकारी गराउनुभयो । नवलपुरको फलाम खानी उत्खननका लागि थालनी, नमुना सदरमुकाम, नारायणगढ – बुटवल सडक विस्तार, कालीगण्डकी करिडोर आफ्नै पालामा बनेको उहाँले बताउनुभयाे ।   

कार्यक्रममै ओलीले मझीलाल थारु थनेतको नाममा दुई लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणासमेत गर्नुभयो । आफूले अक्षयकोषका लागि दुई लाख उपलब्ध गराउने, क्याम्पसले त्यसको वितरणको प्रक्रिया आफैँ मिलाउने उहाँले जानकारी गराउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको भू–भाग ऋषिमुनिको तपोभूमि रहेको बताउँदै विश्वको सबैभन्दा पुरानो दर्शन र सभ्यता शैव दर्शन, शैव सभ्यता उत्पत्ति भएको भूभाग यही रहेको बताउनुभयो । 

यस्तै ओलीले क्याम्पसको पुस्तकालय भवन र प्रशासनिक भवनको समेत उद्घाटन गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया