सङ्खुवासभा : धुपुका लागि नियुक्त गरिएको कर्मचारी स्वाची पठाएपछि स्थानीयको विरोध

 चैत ११, २०७८ शुक्रबार १२:५:३८ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ मा रहेकाे धुपु स्वास्थ्य चौकीका लागि नियुक्त गरिएको अनमी पदका कर्मचारी अर्को ठाउँमा पठाएपछि विवाद सुरु भएको छ ।

सभापोखरी गाउँपालिकाले गएको माघ २१ गते धुपु स्वास्थ्य चौकीमा रिक्त हेल्थ असिस्टेन्ट र अनमी पदमा विज्ञापन गरी कर्मचारी माग गरेको थियो । तर, परीक्षा उत्तीर्ण भएपछि गएको फागुन २६ गते हेल्थअसिस्टेन्टलाई धुपु स्वास्थ्य चौकीमा र अनमीलाई सभापोखरी–६ स्वाची स्वास्थ्य चौकीमा पठाएपछि विवाद सुरु भएको हो । 

धुपुका लागि भनेर परीक्षा दिनुभएकी अनमी सीता तामाङले स्वाची जानुपर्ने भए आफूले जागिर नै नखाने बताउनु भएकाे छ । उहाँले गाउँपालिकाको कार्यालयमा जुन ठाउँको लागि विज्ञापन गरिएको हो त्यही ठाउँमा काम गर्न पाउँ भनि निवेदन समेत पेस गर्नुभएकाे छ । 

सीतालाई धुपु स्वास्थ्य चौकीमा नपठाएपछि स्थानीय राजनीतिक दल र गाउँलेहरुले विरोध जनाएका छन् । धुपु स्वास्थ्य चौकीमा करिब ८/९ महिनादेखि हेल्थ असिटेन्ट र अनमी कर्मचारी अभाव भइरहेको समयमा पालिकाले धुपुकै लागि भनेर कर्मचारी आह्वानका लागि विज्ञापन गरेकाे थियाे । तर, परीक्षा सकिएपछि अनमीलाई स्वाचीमा काम गर्न पठाउनु धुपुमाथि भेदभाव भएको सभापोखरी–१ का वडाअध्यक्ष मणिसुन्दर राईले बताउनुभयो । राई धुपु स्वास्थ्य व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष समेत  हुनुहुन्छ।

मङ्गलवार राईको अध्यक्षतामा बसेको बैठकले धुपु स्वास्थ्य चौकीको लागि भनेर नियुक्ति गरिएको कर्मचारी नै धुपु स्वास्थ्य चौकीमा पठाउनु पर्ने र पालिकाले अरु कर्मचारी पठाए हाजिर समेत हुन नदिने निर्णय गरेको जनाइएको छ।

स्थानीय कृष्ण राईले गाउँपालिकाले मनपरि तन्त्र चलाएको आरोप लगाउनुभयो। उहाँले अनमी नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको समयमा धुपुका लागि भनेर विज्ञापन गर्ने र उत्तीर्ण भएपछि अर्को ठाउँमा कामकाजमा लागि खटाउनु नियत गलतभएको बताउनुभयो।

स्थानीयका साथै राजनीतिक दलले समेत गाउँपालिकाले तत्कालै निर्णय सच्याउनु पर्ने माग राख्र्दै आएका छन् । गएको चैत्र ३ गत सभापोखरी गाउँपालिकास्तरीय तीन वटा राजनीतिक दलका गठबन्धन नेपाली कांग्रेसका जितेन्द्र ओनेम, नेकपा माओवादी केन्द्रका विष्णुकुमार तामाङ र एकीकृत नेकपा समाजवादी यमबहादुर सुब्बाले संयुक्त रुपमा हस्ताक्षारसहित विज्ञप्ति जारी गर्नुभएकाे थियाे ।

उनीहरुले धुपु स्वास्थ्य चौकीका लागि नियुक्ति गरिएको कर्मचारी त्यही स्वास्थ्य चौकीमा पठाउनुपर्ने माग गर्दै गाउँपालिका निवेदन दिएका थिए ।  चैत्र ६ गतेसम्म गलत निर्णय नसच्याए कठोर निर्णय लिन बाध्य हुने समेत चेतावनी उनीहरुले दिएका थिए ।

दलीय गठबन्धनले विज्ञप्ति निकालेको भोलिपल्ट चैत्र ४ गते सभापोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालले विज्ञप्ति निकालेर प्रमुख प्रशासकीय अधिकृतले आफ्नो अधिकारको प्रयोग निजामति सेवा ऐन २०४९, निजामति सेवा नियमावली २०५० र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा २ भित्र रहेर कर्मचारीलाई कामकाजमा खटाएको बताउनुभयाे।

'कर्मचारीका विषयलाई लिएर विवाद चर्किएपछि सोमवार बसेको कार्यपालिका बैठकमा असन्तुष्ट पक्षले पेस गरेको निवेदन मैले कार्यपालिकामा पेस गरेको थिएँ । तर त्यस बैठकले कर्मचारी विवादका बारेमा केही निर्णय गरेन' प्रमुख प्रशासकीय अधिकृत बरालले भन्नुभयाे । 

सभापोखरी गाउँपालिकामा निर्माणाधीन प्रशासकीय भवन निर्माण अलपत्र अवस्थामा रहेको भन्दै गठबन्धन र स्थानीयले पटक–पटक विरोध जनाउँदै आएका छन् । त्यसका साथै विभिन्न योजनादेखि हरेक कार्यसम्पादन चुस्त र दुरुस्त हुन नसकेको भन्दै सभापोखरी गाउँपालिकाको समय–समयमा आलोचना भइरहने गर्दछ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया