साैराहाकाे पर्यटनमा 'ब्रान्ड' बन्दै हात्ती

 साउन २७, २०७९ शुक्रबार २०:७:३३ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल तस्बिर

चितवन – चितवनमा हात्तीपालन व्यवसाय फस्टाउँदै गएको छ । कुनै समय जमिन्दार, मुखियाहरूले सोखका रूपमा पाल्ने हात्ती अहिले पर्यटन व्यवसाय र वन्यजन्तुु संरक्षण लक्षत गरी पालिने गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जले सौराहाको खोरसोरमा हात्ती प्रजनन तथा तालिम केन्द्र स्थापना गरी हात्ती पाल्दै आएको छ । निकुञ्जमार्फत ५६ वटा हात्ती पालिएको छ । प्रजनन केन्द्र र १२ वटा साना हात्ती सार स्थापना गरी हात्ती पालिँदै आएको चितवन राष्टिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । निकुञ्ज क्षेत्रमा ४५ देखि ५० वटासम्म जङ्गली हात्ती रहेको उहाँले जानकारी दिनुभयो । 

कुनै समय चितवनमा हात्ती नभएर विदेशबाट उपहार स्वरुप हात्ती ल्याइएको थियो । विसं २०४४ सालमा सौराहामा हात्ती प्रजनन केन्द्र स्थापना गरिएपछि अहिले विदेशबाट हात्ती ल्याउनुपरेको छैन । केन्द्र स्थापना हुने समयमा विदेशबाट १९ वटा हात्ती ल्याइएको निकुञ्जको अभिलेखमा रहेको छ । तत्कालीन अवस्थामा भारतलाई चार वटा एक सिँगे गैँडा दिएर १६ वटा हात्ती चितवन ल्याइएको तथ्याङ्कमा उललेख छ । 

चितवनमा निजी क्षेत्रले ६६ वटा हात्ती पालेका छन् । चितवनको सौराहामा जनावरमध्येको ठूलो हात्तीमा सफारी गरेर पर्यटकले मनोरञ्जन लिन र अन्य जनावरहरू अवलोकन गर्न हात्तीको प्रयोग हुँदै आएको छ । निजी क्षेत्रले एउटा हात्ती किन्न ५० लाखदेखि एक करोड रुपैयाँसम्म लगानी गर्ने गरेका छन् । औपचारिक रूपमा हात्तीको किनबेच नभए पनि आनौपाचारिक रूपमा हात्ती खरिद–बिक्री हुँदै आएको छ । 

सौराहामा आउने पर्यटकका लागि हात्ती आकर्षण बन्दै गएका कारणले पनि पाल्नेको सङ्ख्या बढ्दै गएको हात्ती पाल्नेहरूको संस्था चितवन युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीले बताउनुभयो । सहकारीले हात्तीबारेको समस्या समाधानमा सहायोग गर्दै आएको छ । यही सहकारीबाटै हात्तीको स्वास्थ्य स्थितिको बारेमा पशु चिकित्सक खटाइ दैनिक जाँचसमेत हुँदै आएको छ ।  

चितवनको सौराहाको पर्यटनमा हात्ती ब्रान्ड बन्दै गएको छ । हात्ती सफारी, हात्ती नुहाउने, हात्तीसँग सम्बन्धित विभिन्न गतिविधिका कारण यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको छ । हात्ती दिवसका अवसरमा सौराहामा हात्तीलाई सामूहिक रूपमा आहारा खुवाउने कार्यक्रमसमेत गरिन्छ । 

पोथी हात्ती प्रजननका लागि योग्य हुन १० वर्ष समय कुर्नुपर्छ । अहिलेसम्म प्रजनन केन्द्रका पोथी हात्ती जङ्गली हात्तीको सम्पर्कबाट बच्चा जन्माउँदै आएका छन् । हात्तीले दुई वर्षको फरकमा बच्चा जन्माउने गर्छ । गर्भवती भएको २२ देखि २४ महिनामा बच्चा जन्माउँछन् । हात्तीलाई दैनिक १५ किलो धान, एक किलो पाँच सय ग्राम सखर, २५ ग्राम नुनका साथै फलफूल दिइन्छ । हात्तीको सरदर आयु ८० वर्ष हुन्छ । एउटा हात्तीको तौल दुई हजार केजीसम्म हुन्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया