धौलागिरि आधार शिविरबाट १४ जनाको उद्धार, वर्षा र हिमपातमा परेर ४५ घोडा–खच्चड मरे

 असोज २६, २०७९ बुधबार २०:५:५० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरमा अलपत्र परेका १४ जनाको उद्धार भएको छ । प्रतिकूल मौसमका कारण आधार शिविरमा फसेका १४ जनालाई हिजो मङ्गलवार र आज बुधवार गरेर हेलिकप्टरबाट उद्धार गरिएको हो ।   

धौलागिरि आधार शिविर पुगेका पर्यटक गाइड, खच्चड चालक र भरिया गरी १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयाे ।उनीहरूलाई पोखराबाट गएको अल्टिच्युड एअर र सिम्रिक एअरको हेलिकप्टरको सहयोगमा उद्धार गरिएको उहाँले बताउनुभयाे ।    

हेलिप्कटरबाट उद्धार गरिएका पाँच जना शेर्पा गाइडलाई हिजो पोखरा लगेर छाेडिएको थियो । यसैगरी पाँच जनालाई हिजो म्याग्दीको ताकम ल्याएर छाडिएको थियो भने आज धाैलागिरि आधार शिविरभन्दा तल इटाली बेस क्याम्पमा रहेका चार जनालाई उद्धार गरिएको डीएसपी भारतीले बताउनुभयो । उद्धार गरिएका नाै जना मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका खच्चड व्यवसायी र गोठाला हुन् । 

धौलागिरि आधार शिविरसम्म सामान ढुवानी गर्न लगेका आफ्नो २८ र अन्यका १७ गरी ४५ वटा घोडा–खच्चड वर्षा र हिमपातमा परेर मरेका मार्फाका माइकल परियारले बताउनुभयो । दशैँअघि असोज १७ गते मार्फाबाट हिँडेर आधार शिविर पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा भारी वर्षा र हिमपात भएपछि आफूहरू हिउँमा फसेर सम्पर्कविहीन भएकाे उहाँले जानकारी दिनुभयो । वर्षा र हिमपातमा आफूहरू बाँच्न सफल भए पनि सामान बोकाएका घोडा–खच्चड बचाउन नसक्दा ठूलो क्षति बेहाेर्नुपरेको परियारले गुनासो गर्नुभयो ।   

दशैँको टीकाको दिनदेखि पाँच दिनसम्म परेको अविरल वर्षासँगै भारी हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको हो । बङ्गालको खाडीमा विकसित भइ नेपाल प्रवेश गरेको मनसुनी वर्षासँगै हिमाली क्षेत्रमा लगातार पाँच दिनसम्म भारी हिमपात भएपछि त्यहाँ पुगेका पर्यटक, सहयोगी र मजदुर हिउँमा फसेका थिए । आरोहणमा गएका आरोहीको सामान मुस्ताङको मार्फाबाट घोडा खच्चडमार्फत ढुवानी गरिएको थियो ।   

धौलागिरि आधार शिविरको आसपास याकखर्क, हिडनभ्याली, फ्रेन्चपास हुँदै बेस क्याम्प पुर्‍याएर फर्कने क्रममा अविरल वर्षासँगै भारी हिमपात भएपछि उनीहरू फ्रेन्चपासमै फसेका थिए । अहिले आधार शिविरमा अन्य आरोही तथा भरिया कोही भए/नभएकोबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया