जाडो छल्न बेसी झरे उपल्लो मुस्ताङी

 कात्तिक १२, २०७९ शनिबार २०:२१:२३ | सन्तोष थापा
unn.prixa.net

पर्वत – चिसो मौसमको सुरुवातसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेसी झर्न थालेका छन् ।

कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार सुरु गरेका हुन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताउनुभयो । यसरी व्यापारमा निस्किएका मुस्ताङीहरुले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजित लगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।

चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारणहरू जाडो छल्न तल बेसी झर्ने गरेका हुन् ।

चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविहरूले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् ।

‘धेरैजसो गाउँ अहिले सुनसान बनेका छन्, यो अवस्था फागुनसम्म रहन्छ,’ मुस्ताङमा अध्यापनरत शिक्षक राजकुमार पोख्रेल भन्नुहुन्छ, ‘अन्नबाली पनि नहुने भएपछि उनीहरूले घुम्ती व्यापारबाटै जीविका चलाउनुपर्ने अवस्था छ ।’ उपल्लो मुस्ताङमा फापर, आलु, जौ, गहुँजस्ता अन्नबाली केही मात्रामा खेती गर्ने गरिएको छ ।

यो मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ ।

मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोरखा, तनहुँलगायत देशका धेरैजसो जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको स्थानीय समाजसेवी तिलक विकले बताउनुभयो ।

उपल्लो मुस्ताङका धेरैजसो बासिन्दा कुनै न कुनै प्रकारको व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ बेसी झर्न थाल्छन् । व्यापार गर्न नहिच्किचाउने र सानो ठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङीहरूको विशेषता रहेको पाइन्छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया