म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने क्रम जारी

 मंसिर ४, २०७९ आइतबार २१:२:२७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएपछि अहिले सदरमुकाम बेनीमा मतपेटिका आउने क्रम सुरु भएको हो ।

जिल्ला समन्वय समिति म्याग्दीमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले मतदान स्थलबाट मतपेटिकाहरु ल्याएर बुझाउने काम भैरहेको छ । निर्वाचन गराउन खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी, सुरक्षा टोली र दलका प्रतिनिधिसहित मतपेटिकाहरु ल्याइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएका मतपेटिकाहरु जिल्लामा रहेका राजनीतिक दलका प्रतिनिधिहरुको रोहवरमा बुझ्ने काम भैरहेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो । जिल्लाको दुर्गममा रहेको धवलागिरि गाउँपालिका–१, गूर्जा र ४ नम्बर वडा मुदीको बगरबाहेक अन्य मतदानस्थल र केन्द्रबाट आज अबेरसम्म सबै मतपेटिकाहरु सदरमुकाम बेनीमा ल्याइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दुर्गममा रहेका मतदान स्थलबाट भोलिसम्म हेलिकोप्टरको प्रयोग वा गाडीमार्फत भए पनि मतपेटिका ल्याएर मतगणना सुरु गरिनेछ । शिख माविबाहेक जिल्लाको १ सय १९ मतदान केन्द्रमा आज ५ बजेसम्म भएको मतदानबाट ४७ हजार १ सय ८५ मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–५, शिखमा रहेको शिख मावि (क) मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यअन्तर्गत समानुपातिकतर्फको मतपत्र, प्रदेश सभाको समानुपातिकतर्फको मतपेटिकामा र प्रदेशतर्फको समानुपातिक मतपत्र, प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपेटिकामा परेका कारण राजनीतिक दलहरुबीच विवाद भएपछि यहाँ (क) र (ख) दुवै केन्द्रको मतदान प्रक्रिया रोकिएको थियो । त्यसपछि जिल्लाबाट मुख्य निर्वाचन अधिकृत नेपालको साथै प्रमुख जिल्ला अधिकारी चिरन्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारतीसहित सुरक्षाको टोली पुगेर छलफल गरेपछि पुनः मतदान सुचारु गराइएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया