घर–आँगनमा पुगेर सेवा दिँदै, गुनासा सुन्दै गुल्मीदरबार

 पुस १७, २०७९ आइतबार २०:२८:२१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नागरिकको सेवा प्रवाह कार्यालयबाटै हुनुपर्छ भन्ने छैन । जनप्रतिनिधिले नागरिकको गुनासो सुन्न र उनीहरूलाई सहजै सेवा प्रवाह गर्न कहिलेकाहीँ घर–आँगनसम्म पनि पुग्नुपर्छ ।

यस्तै अभ्यास गर्दै छ गुल्मीको गुल्मीदरबार गाउँपालिका । जहाँ नागरिक त्यहाँ सेवा भन्ने मान्यतालाई आत्मसात् गर्दै गुल्मीदरबारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा प्रवाह गर्न सुरु गरेको छ । कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडावडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरूका गुनासालाई समेत त्यही ठाउँबाट समाधान गर्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो । 

यसरी पालिकाले वडा तहमै पुगेर सेवा प्रवाह गर्न थालेपछि स्थानीय निकै खुसी भएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको वडा नं १ बलीथुमका स्थानीय दिलबहादुर कुमालले बताउनुभयो । एउटा सानो कामले पालिका जानु पर्दा घण्टौँ समय लाग्ने गरेको भन्दै उहाँले यसरी गाउँमै आएर आफूले नबुझेको र आफ्नो समस्या राख्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

गुल्मीदरबार गाउँपालिकाले वडामै पुगेर विभिन्न विषयगत कार्यालयका फरक–फरक विधाका शीर्षकमा कुल तीन हजार तीन सय ८३ जनालाई सेवा प्रवाह गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । पालिकाले गएकाे दुई गर्षदेखि एकीकृत घुम्ती सेवा सञ्चालन गर्दै आएको पाण्डेले बताउनुभयो । 

योजना सम्झौता गर्नु पहिले र सम्झौता गरेपछि पालिकाले सबै वडा तहसम्म पुगेर स्थानीय उपभोक्ता समितिका पदाधिकारीसँग अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने गर्दछ । योजना सम्पन्न गर्न र गरेपछि त्यसको भुक्तानी प्रक्रियासम्म आवश्यक पर्ने सबै विषय वस्तुको बारेमा उपभोक्तालाई जानकारी गराइन्छ । 

एकीकृत सेवामार्फत पालिकाले नयाँ व्यवसाय दर्ता, व्यवसायको नवीकरण, माटो परीक्षण, पशुपक्षीका लागि औषधी वितरण तथा परामर्श, ज्येष्ठ नागरिक परिचय पत्र वितरणलगायतका सेवा प्रवाह गरेको गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिनुभयाे । पालिकाले नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्दै उनीहरूमा अभिभावकीय अपनत्व प्रदान गर्न 'जनतासँग गाउँपालिका' र 'जनतासँग अध्यक्ष' लगायतका कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया