धावन मार्गको हिउँ सफा गरेपछि हवाई सेवा सञ्चालन

 माघ १२, २०७९ बिहिबार १९:१:१२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ सफा गरेपछि हवाई सेवा सञ्चालन भएको छ । 

लगातरको हिउँ परेर हिउँले धावन मार्ग जाम गरेपछि हिउँ पर्न रोकिए पनि जहाज बस्न कठिन भएको थियो ।

बिहीवार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सञ्चालन भएको हो ।

नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन् ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार हिउँसफा गरेसँगै हवाई सेवा सञ्चालन भएको हो ।

उहाँका अनुसार जहाज आएपछि तिन दिनदेखि थन्किएका यात्रुहरुको आवतजावत हुन थालेको छ । बिहीवार विमानस्थल सफा गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।

हिउँ पञ्छाएपछि जहाज बस्यो 

धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपालीसेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको थियो ।

नेपाली सेना २४ नम्बर बाहिनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा विहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिनु भएको थियो ।  

तीन दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए । काठमाण्डौबाट जुम्ला आउन लागेकी नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले नेपालगञ्ज विमानस्थलमा जुम्लाको टिकट भए पनि तीन दिनदेखि हिउँपरेर आउन नसकिएको तर अहिले उडान भएपछि बल्ल गन्तव्यमा पुग्न सकिएको बताउनुभयो । 

शाही सँगै करिब ४ वटा जहाजका यात्रुहरु नेपालगञ्जबाट जुम्ला आउन कुरिरहेका थिए । नागरिक उड्डयन प्राधिकरणका अनुसार आज ४ वटा उडान हुने तयारी थियो । तर धावन मार्ग नखुलेका कारण सम्भव भएन ।

नेपाली सेनाका अनुसार हिउँ कम भएर दिउसो १२ बजे सम्म धावन मार्ग खुलाउने प्रयास गरिए पनि हिउँ जमेर खुलाउन कठिन भएको थियो । 

कर्णाली राजमार्ग पनि सञ्चालन 

हिमपातले कर्णाली राजमार्गको कालिकोट खण्डमा गाडी भासिएर अबरुद्ध भएको थियो । अबरुद्ध राजमार्ग खुलेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईका अनुसार डोजर पठाएर काम गरेपछि राँचुलीको बाटो खुलेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया