धार्मिक स्थलहरूको संरक्षण हुन सके राष्ट्रकै समृद्धिमा याेगदान पुग्छ : राष्ट्रपति भण्डारी

 फागुन १०, २०७९ बुधबार १६:१३:१८ | सन्तोष थापा
unn.prixa.net

पर्वत – राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, संवर्धन हुन सके राष्ट्रकै समृद्धिमा योगदान पुग्ने बताउनुभएको छ । आज बुधवार पर्वतको जलजला गाउँपालिका २ पूर्ण गाउँमा रहेकाे आदिबराह मन्दिरको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक स्थलहरूकाे संरक्षण, संवर्धन गराउन सकेमा पर्यापर्यटनको माध्यमबाट स्थानीयस्तरमा मात्रै नभई समग्र देशको समृद्धिमा टेवा पुग्ने बताउनुभएको हो । 

पर्वतका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरू नेपालका उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यकाे सूचीमा समावेश भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले ती क्षेत्रहरूको प्रवर्धनका लागि स्थानीयस्तरबाट मात्रै नभई सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताउनुभयो । 

मन्दिरको उद्घाटनपछि राष्ट्रपति भण्डारीले कालाञ्जार क्षेत्रका रूपमा चिनिने पर्वतको तीन हजार तीन सय मिटर उचाइमा रहेको हम्पाल क्षेत्रको समेत अवलोकन गर्नुभएको थियो । अवलोकनसँगै उहाँले प्राकृतिक सम्पदालाई संरक्षण सँगै दिगो उपयोग गर्दै आर्थिक उपार्जनमा जोड्नुपर्ने बताउनुभयो ।  

बराह ताल

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिमार्फत भएको पर्यटकीय सम्भावनायुक्त क्षेत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आउँदा दिनमा महत्त्व बढेर जाने अपेक्षा गरिएको बताउनुभयो । 

त्यस्तै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले पर्वतको समृद्धिका लागि कालाञ्जार क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले कालाञ्जार क्षेत्रमा पूर्वाधार विकाससँगै पर्यटकीय क्षेत्र बनाउन सके समग्र देशलाई टेवा पुग्ने बताउनुभयो । 

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह तालबाट पर्वत, म्याग्दी र बाग्लुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया